लागुऔषधविरुद्ध प्रहरीको कारबाही : देशका विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ, साउन १७ । नेपाल प्रहरीले नियमित गस्ती र विशेष अपरेसनका क्रममा देशका विभिन्न जिल्लाहरूबाट ठुलो परिमाणमा लागुऔषधसहित १४ जनालाई नियन्त्रणमा लिएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापा, कैलाली, मोरङ, सुर्खेत र दाङका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् ।

झापामा भारतीय नागरिकसहित पाँच पक्राउ
झापाको कनकाई नगरपालिका २ बाट प्रहरीले १०२ ग्रामभन्दा बढी खैरो हेरोइन, ७,२०० ट्याब्लेट ट्रामाडोल र ७,४५० ट्याब्लेट नाइट्राभेटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यका २७ वर्षीय अझर अन्सारी र २८ वर्षीय मोहम्मद एजवाल रहेका छन् । यस्तै, दमक नगरपालिका ५ बाट खैरो हेरोइन र ४,९६० ट्याब्लेट ट्रामाडोलसहित इटहरीका बुद्ध राई, मिक्लाजुङकी रोमी लिम्बू र दमकका करण मल्लिकलाई नियन्त्रणमा लिइएको छ ।

कैलाली र मोरङमा पाँच जना पक्राउ
कैलालीको टीकापुर नगरपालिकाका विभिन्न स्थानबाट ४३० मिलिग्राम र १ ग्राम ७९० मिलिग्राम खैरो हेरोइनका साथ क्रिस शर्मा र तेज बुढा पक्राउ परेका छन् । उता मोरङको लेटाङबाट प्रमिला लामा र पथरीशनिश्चरेबाट मिका खत्री तथा बन्दना माखिमलाई नियन्त्रणमा लिइएको छ । उनीहरूको साथबाट ट्रामाडोल, स्पास्पेन, डाइक्लोमाइन ट्याब्लेट १३,७७५ नगद बरामद गरिएको छ ।

सुर्खेत र दाङमा चार जना पक्राउ
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाबाट ब्राउनसुगर र खैरो हेरोइनजस्तो देखिने पदार्थसहित रोहित घिसिङ, लोकेन्द्रबहादुर रावल र चित्र थापालाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी, दाङको घोराही उपमहानगरपालिका १३ बाट ५ ग्राम ११० मिलिग्राम खैरो हेरोइन, ७४ रुपियाँ नगद र एक थान डिजिटल तराजुसहित १७ वर्षीय एक किशोर पक्राउ परेका छन्।

पक्राउ परेका सबै व्यक्तिहरूलाई सम्बन्धित जिल्लाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।