काठमाडौँको गोठाटारमा भीषण आगलागी, १४ वटा पसल जलेर नष्ट, एक जना घाइते

काठमाडौँ, १७ साउन । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९, गोठाटारस्थित पहेंलोपुल नजिक शनिबार राति भीषण आगलागी हुँदा १४ वटा पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आगो निभाउने क्रममा एक जना स्थानीय घाइते भएका छन्।

प्रहरीका अनुसार स्थानीय रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम र सटरबाट विद्युत् सर्ट भई राति सवा ९ बजे आगलागी सुरु भएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले स्थानीयवासीको सहयोगमा नौ वटा दमकल र तीन वटा पानी ट्याङ्की प्रयोग गरी राति ११:०० बजे आगो नियन्त्रणमा लिएको थियो।

आगो निभाउने क्रममा कागेश्वरी मनोहरा–९ का ३७ वर्षीय नरेश थापा लडेर घाइते हुनुभएको छ। उहाँलाई नगर अस्पताल मूलपानीमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।
आगलागीबाट ओम काष्ठ मिल उद्योग, रिकन्डिसन एन्ड हेल्मेट पसल, बासु फर्निचर पसल, घिसिङ अटो रिकन्डिसन, रङ पसल, प्रेम गौतम रिकन्डिसन, मोबाइल पसल, हार्डवेयर पसल, मिठाई पसल, चिया पसल, हिमेस गौतमको फर्निचर पसल, चटपटे एन्ड किराना पसल, कस्मेटिक पसल र स्टेशनरी पसलहरू क्षति भएका छन् । क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।