बूढानीलकण्ठमा गोली प्रहार गरेर ‘जेनजी’ आन्दोलनका नाममा आपराधिक गतिविधि गर्ने लामा पक्राउ

काठमाडौँ, १७ साउन । काठमाडौँको बूढानीलकण्ठमा शनिबार साँझ प्रहरी र ‘जेनजी’ आन्दोलनका नाममा आपराधिक गतिविधिमा संलग्न एक व्यक्तिबीच मुठभेड हुँदा प्रहरीले गोली प्रहार गरी ती व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

बूढानीलकण्ठ नगरपालिका–चुनिखेलमा कर्मा लामालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार लामाले प्रहरी टोलीमाथि दुर्व्यवहारको प्रयास र प्रतिकार गरेपछि आत्मरक्षाका लागि गोली प्रहार गरिएको हो ।

लामाको घुँडामुनि गोली लागेको छ । उनलाई तत्कालै नियन्त्रणमा लिएर उपचारका लागि काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको प्रहरीले जनाएको छ । हाल उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ ।

प्रहरीका अनुसार लामा पछिल्लो समय ‘जेनजी’ आन्दोलनको आडमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएका थिए । उनीमाथि भएका थप कसुरका विषयमा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।