पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि : पेट्रोल र डिजेल प्रतिलिटर २०० रुपैयाँ पुग्यो
काठमाडौँ, १७ साउन । नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।
नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँले मूल्य वृद्धि गरिएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।
मूल्य वृद्धिपछि ठाउँअनुसार पेट्रोल र डिजेलको मूल्य फरक–फरक कायम भएको छ । काठमाडौँ, पोखरा र दिपायल: पेट्रोल र डिजेल प्रतिलिटर रु. २०० कायम भएको छ । सुर्खेत र दाङ: प्रतिलिटर रु. १९९ पुगेको छ ।
तराई क्षेत्र (विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलवारी र धनगढी): प्रतिलिटर रु. १९७.५० पैसा कायम गरिएको छ ।
विशेष गरी हवाई इन्धनमा एकै पटक प्रतिलिटर २० रुपैयाँले वृद्धि भएपछि हवाई भाडा समेत महँगिन सक्ने देखिएको छ ।