मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त : अदालतद्वारा म्याद थप गर्न अस्वीकार
भक्तपुर, १८ साउन । जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिरहनु नपर्ने आदेश दिएको छ । न्यायाधीश नवराज दाहालको इजलासले म्याद थपका लागि प्रहरीले गरेको मागलाई अस्वीकार गरेसँगै प्रसाईं आजै थुनामुक्त हुनुभएको हो ।
अदालतको आदेशमा अनुसन्धानका लागि प्रसाईंलाई हिरासतमै राख्नुपर्ने ठोस आधार नदेखिएको उल्लेख छ । आदेशमा भनिएको छ, “अनुसन्धान गर्न यी प्रतिवादीलाई हिरासतमा नराखिए प्रमाण नष्ट गर्ने वा भागी जान सक्ने अवस्थाका बारेमा वादी पक्षबाट ठोस आधार पेस हुन आएको नदेखिएको हुँदा हिरासतमा राख्ने गरी म्याद थपसम्मको अवस्था देखिएन ।”
प्रहरीले प्रसाईंविरुद्ध साइबर अपराध, राज्यविरुद्धको कसुरअन्तर्गत सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धको कसुर तथा सार्वजनिक शान्ति विरुद्धको कसुर गरी तीनवटा मुद्दामा अनुसन्धानका लागि सात दिनको म्याद माग गरेको थियो । सरकारी वकिलको कार्यालयमार्फत उहाँलाई आज अदालतमा उपस्थित गराइएको थियो ।
विवादास्पद अभिव्यक्ति र आन्दोलनको घोषणा गरेपछि प्रहरीले प्रसाईंलाई आइतबार राति भक्तपुरको निकोसेरास्थित उहाँकै निवासबाट पक्राउ गरेको थियो । अदालतको यो आदेशसँगै उहाँ हिरासतबाट मुक्त हुनुभएको छ ।