महानवमी पर्व आज देशभर मनाइँदै : तलेजु भवानी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड
नवदुर्गा भगवतीको विशेष पूजा आराधना
काठमाडौँ, कात्तिक ३ । आश्विन शुक्ल नवमीका अवसरमा नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी महानवमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । नवरात्रको नवौँ दिनका रूपमा मनाइने महानवमीमा विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा पूजाआजा, बलि र धार्मिक अनुष्ठान गर्ने परम्परा छ ।
महानवमीका दिन घटस्थापनामा राखिएको जमरा विभिन्न शक्तिपीठमा चढाइन्छ । दसैँघर, कोत तथा देवी मन्दिरमा दुर्गा भवानीको विशेष पूजा आराधना गर्नुका साथै दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । कतिपय स्थानमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलि दिने प्रचलन छ ।
पशुबलि नदिने तथा शाकाहारी भक्तजनले कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवल बलिका रूपमा चढाउने गर्छन् । पायस अर्पण गरी पूजा गर्ने परम्परा पनि छ । अधिकांश स्थानमा महाअष्टमीका दिन बलि दिने र महानवमीमा मार हान्ने चलन रहेको छ ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले यस पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । आज नवदुर्गामध्ये नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्याको पूजा गरी दक्षिणा दिने प्रचलनसमेत छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि पूजा गरिन्छ ।
महानवमीका अवसरमा देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । कोतहरूमा हर्षबढाइँसहित कोतपूजा र निशानापूजा गर्ने परम्पराअनुसार हनुमानढोका दरबारलगायत नेपाली सेनाका ब्यारेक तथा गुल्ममा बाजागाजासहित जङ्गी निशाना पूजा गरिन्छ ।
यसैबीच, काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर आज बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । वर्षमा एक दिन महानवमीमा मात्र खुल्ने उक्त मन्दिरमा दर्शनका लागि भक्तजनको आगमन सुरु भएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार मन्दिर आज साँझ ६ बजेसम्म खुला रहनेछ ।
तलेजु भवानीलाई फूलपातीका दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो । विजयादशमीका दिन बिहान मात्रै देवीलाई मूल मन्दिरमा फर्काइने जनाइएको छ । मूलचोकमा सोमबार महाअष्टमीको राति तान्त्रिक विधिअनुसार कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलि दिइएको थियो । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पसहित उक्त पूजा गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
