फ्रान्समा हिंसात्मक प्रदर्शनपछि आंशिक कफ्यु; प्रहरीले ‘नियन्त्रण गुमाएको’ गृहमन्त्रीको स्वीकारोक्ति

प्यारिस । महँगी, कमजोर सार्वजनिक सेवा र शैक्षिक अवस्थाविरुद्ध भएको प्रदर्शन हिंसात्मक दंगा र लुटपाटमा परिणत भएपछि फ्रान्स सरकारले राजधानी प्यारिसलगायत विभिन्न सहरका केही क्षेत्रमा आंशिक कफ्यु जारी गरेको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार, प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले स्थानीय प्रशासनलाई व्यापारिक प्रतिष्ठान, नागरिक र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि ‘सीमित र स्थानीय’ कफ्यु लगाउन निर्देशन दिएका छन्

प्यारिसमा रात्रिकालीन प्रतिबन्ध

प्यारिस प्रहरीले ‘प्लेस डे ला रिपब्लिक’ र लुटपाटको केन्द्र रहेको ‘लेस हालेस’ वरपर सोमबार राति ११ बजेदेखि मंगलबार बिहान ६ बजेसम्म कफ्यु लगाएको छ। त्यसैगरी केही क्षेत्रमा साँझ ८ बजेपछि प्रदर्शन तथा भेला गर्न प्रतिबन्ध लगाइएको छ।

प्यारिसका अतिरिक्त लियोन, लिल, निस, मार्सेय र बोर्दोजसहितका सहरहरूमा पनि आंशिक कफ्यु वा भेलामा रोक लगाइएको छ। लिल र नजिकका केही सहरमा अबका दुई दिन राति ८ बजेदेखि बिहान ६ बजेसम्म नाबालिगहरूका लागि कफ्यु लागू गरिने जनाइएको छ।

‘नियन्त्रण गुमायौं’

फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले गत सप्ताहान्तको असहजता नियन्त्रण गर्न प्रहरीले केही सहरमा नियन्त्रण गुमाएको स्वीकार गरेका छन्। उनले सुरक्षा व्यवस्थामा पूर्वतयारीको कमी भएको पनि स्वीकार गरेका छन्।

देशभर ६० हजारभन्दा बढी प्रहरी र जेन्डार्मरी परिचालन गरिए तापनि दंगा, तोडफोड र पसलमा लुटपाट रोक्न अपर्याप्त भएको बताइएको छ।

राजीनामा अस्वीकृत

प्रदर्शन नियन्त्रणमा विफलताको आलोचना सामना गरिरहेका गृहमन्त्री नुनेजले दिएको राजीनामा राष्ट्रपति इमानुएल म्याक्रोनले अस्वीकार गरेका छन्। राष्ट्रपतिले सुरक्षा निकायको कमाण्ड संरचना कायम राख्नुपर्ने बताउँदै दंगाकारी र लुटपाटमा संलग्नहरूविरुद्ध नयाँ रणनीति अघि सार्न तथा सुरक्षा व्यवस्थाका कमजोरी छानबिन गर्न निर्देशन दिएका छन्।

क्षति र पक्राउ

अधिकारीहरूका अनुसार गत सप्ताहान्तको प्रदर्शन र दंगामा २,५०० भन्दा बढी व्यक्ति पक्राउ परेका छन्, जबकि करिब १,००० प्रहरी तथा सुरक्षाकर्मी घाइते भएका छन्। दंगामा सयौं पसल क्षतिग्रस्त भएका र कतिपयमा लुटपाट तथा आगजनी भएको जनाइएको छ।

सप्ताहान्तमा देशभर करिब ५ लाख ५० हजार मानिसले महँगी, इन्धनको मूल्यवृद्धि र शिक्षालगायत सार्वजनिक सेवाको अवस्थाविरुद्ध सडकमा उत्रिएका थिए। विद्यार्थीहरूको मागबाट सुरु भएको आन्दोलनमा पछि व्यापारिक संगठन र विभिन्न प्रदर्शनकारी समूह पनि सामेल भएका छन्।

आगामी चुनौती

‘हेलो भेस्ट’ (पहेंलो बनियान) आन्दोलनले आउँदो शनिबार फेरि प्रदर्शन गर्ने घोषणा गरेको छ। आगामी राष्ट्रपति निर्वाचनको करिब छ महिना अघि चर्किएको असन्तुष्टिले फ्रान्सको सुरक्षा व्यवस्था र कमजोर अर्थतन्त्रमाथि थप दबाब बढाएको विश्लेषण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *