म्याग्दीको एकतारे खोलाले बगाउँदा एक व्यक्ति बेपत्ता, खोजी कार्य जारी

काठमाडौँ, साउन १९ । म्याग्दीको रघुगङ्गा गाउँपालिका ६ मुलपानीस्थित एकतारे खोला तर्ने क्रममा एक व्यक्ति बेपत्ता हुनुभएको छ । बेपत्ता हुनेमा स्थानीय ३५ वर्षीय भीमबहादुर घर्ती रहनुभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरीका अनुसार घर्तीले रघुगङ्गा ८ चौरखानीबाट खरिद गरेर ल्याएको भैँसीसहित खोला तर्न खोज्दा सोमबार साँझ खोलाले बगाएको थियो । स्थानीयबासीले घटनाबारे जानकारी गराउनासाथ प्रहरी टोली घटनास्थल पुगेर खोजी सुरु गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले दिनुभएको जानकारी अनुसार, सोमबार साँझदेखि नै खोजी कार्य तीव्र पारिए पनि हालसम्म घर्तीको अवस्था पत्ता लाग्न सकेको छैन । “हिजो साँझ अबेरसम्म खोजी गर्दा पनि फेला पार्न सकिएन, आज बिहानैदेखि प्रहरी र स्थानीयको सहयोगमा पुनः खोजी कार्य सुरु गरिएको छ,” प्रहरी निरीक्षक तिमिल्सिनाले भन्नुभयो ।

पछिल्लो समय मनसुन सक्रिय भई खोलाहरूमा पानीको बहाव बढेकाले ग्रामीण क्षेत्रका खोलानाला तर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।