सान्फ्रासिस्कोस्थित नेपाली महावाणिज्यदूतावास भदौ १५ देखि बन्द हुने

काठमाडौँ, साउन २२ । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान्फ्रासिस्कोमा रहेको नेपाली महावाणिज्यदूतावास आगामी भदौ १५ गतेदेखि बन्द हुने भएको छ । नेपाल सरकारको निर्णयअनुसार महावाणिज्यदूतावास खारेजीको प्रक्रियामा रहेकाले सेवा प्रवाहको समयसीमा तोकिएको हो ।

महावाणिज्यदूतावासले आज एक सूचना जारी गर्दै आगामी भदौ १५ गते (अगष्ट ३१) सम्म मात्र राहदानी तथा कन्सुलर सेवाहरू उपलब्ध हुने जानकारी दिएको छ । उक्त मितिपश्चात् ती सेवाहरू पूर्ण रूपमा बन्द हुने भएकाले आवश्यक सेवा लिन चाहने सेवाग्राहीहरूलाई तोकिएको समयभित्रै प्रक्रिया पूरा गर्न कार्यालयले अनुरोध गरेको छ ।

सूचनाका अनुसार, जुलाई ६ सम्म महावाणिज्यदूतावासमा प्रत्यक्ष उपस्थित भएर वा राहदानी घुम्ती सेवामार्फत आवेदन दिएका सेवाग्राहीहरूको नयाँ राहदानी तयार भई कार्यालयमा प्राप्त भइसकेको छ । महावाणिज्यदूतावासले राहदानी बुझ्न बाँकी रहेका सबै आवेदकहरूलाई यथाशीघ्र कार्यालयमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन समेत आग्रह गरेको छ ।

नेपाल सरकारको पछिल्लो निर्णयसँगै सान्फ्रासिस्कोस्थित नियोग बन्द हुने भएपछि त्यहाँबाट प्रवाह हुँदै आएका सेवाहरू अब अन्य नजिकका नियोग वा दूतावासमार्फत व्यवस्थापन गरिने बुझिएको छ ।