प्रतिनिधिसभाको बैठक आज बस्दै, खानीदेखि राहदानीसम्मका ५ विधेयक प्रस्तुत गरिँदै

काठमाडौँ, २२ साउन । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १:०० बजे सिंहदरबारमा बस्ने बैठकमा सरकारले विभिन्न महत्वपूर्ण पाँचवटा विधेयकहरू सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा विशेष गरी संवैधानिक निकाय, खानी, मानव बेचबिखन र राहदानीसँग सम्बन्धित ऐन संशोधनका लागि विधेयकहरू टेबल गरिनेछन् ।

प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ सदनमा पेश गर्नुहुनेछ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ । परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुहुनेछ ।

आज प्रतिनिधिसभाको पूर्ण बैठक बस्नुअघि विभिन्न तीनवटा संसदीय समितिहरूको बैठक पनि बस्दैछ:
१. कानुन, न्याय तथा मानवअधिकार समिति (बिहान १०:०० बजे): विभिन्न कारागार तथा हिरासतमा रहेका कैदीबन्दीहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।
२. पूर्वाधार विकास समिति (बिहान १०:०० बजे): सडक विस्तारमा अवरोध पुर्‍याइरहेका विद्युत्का पोल र वितरण लाइन व्यवस्थापनमा भइरहेको ढिलाइबारे छलफल गर्ने कार्यक्रम छ ।
३. अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति (बिहान १०:३० बजे): ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा विषय विज्ञहरूसँग सुझाव लिइनेछ ।

आजको बैठकमा प्रस्तुत हुने विधेयकहरूले मुलुकको प्रशासनिक र कानुनी सुधारमा महत्वपूर्ण भूमिका खेल्ने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।