तातोपानी नाकामा सुख्खा पहिरो: सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति
सिन्धुपाल्चोक, २२ साउन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा गएराति सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बेस (बीओपी) मा भौतिक क्षति पुगेको छ । रातिको समयमा पहिरो खसे पनि कुनै मानवीय क्षति भने नभएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार गएराति १:१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट अचानक सुख्खा पहिरो झरेको थियो । डाँडाबाट ठूला ढुङ्गाहरू उछिट्टिएर बीओपी परिसरमा बजारिँदा ब्यारेक र अन्य संरचनामा क्षति पुगेको हो ।
पहिरोका कारण बीओपीका विभिन्न भागमा क्षति पुगेको छ । ब्यारेकको पहिलो लाइनका झ्यालका सिसा फुटेका छन् भने दोस्रो लाइन ब्यारेकको भित्ता र जस्ताको छानामा प्वाल परेको छ । एउटा ड्युटी पोस्ट पूर्ण रूपमा ध्वस्त भएको छ भने अर्को आंशिक रूपमा क्षतिग्रस्त भएको छ । त्यस्तै परिसरमा रहेको राष्ट्रिय झण्डा राखिएको पोल पूर्ण रूपमा भाँचिएको छ भने बाथरुम, जिन्सी स्टोर भवन र मुख्य गेट अगाडिको सिँढीमा समेत क्षति पुगेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
पहिरो खसेको समयमा ड्युटीमा रहेका र ब्यारेकमा सुतिरहेका सुरक्षाकर्मीहरू सुरक्षित रहेकाले मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । तातोपानी नाका क्षेत्रमा वर्षा र सुख्खा पहिरोको जोखिम बढेकाले सो क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।