मनसुन अझै सक्रिय: देशभर वर्षा, हिमपातको पनि सम्भावना
काठमाडौँ, २२ साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसम सक्रिय रहेकाले बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास र पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ । जसका कारण अहिले बागमती र कर्णाली प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । यस्तै, उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने र तराईका केही स्थानमा पनि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षा हुनेछ । तराईका भू-भागमा पनि वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ ।
वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, भूक्षय र गेग्रान बहावको जोखिम रहनेछ भने तराई र नदी तटीय क्षेत्रमा बाढीको सम्भावना छ ।