नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका युवकको बाटोमै बेहोस भएर मृत्यु

काठमाडौँ, साउन २२ । नेपालगञ्जबाट स्कुटरमा सुर्खेततर्फ आउँदै गरेका एक युवकको बाटोमा बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–९ का २९ वर्षीय उत्सव जिसीको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । २७ वर्षीय रोशन घिसिङले चलाएको स्कुटरको पछाडि सवार जिसी वीरेन्द्रनगर ४ स्थित हर्रे भन्ने स्थानमा आइपुग्दा अचानक बेहोस भएका थिए ।

सहयात्री घिसिङले जिसी बेहोस भएको जानकारी गराएपछि तत्काल प्रहरी टोलीले उनको उद्धार गरी अस्पताल पुर्‍याएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

सुर्खेतका प्रहरी सूचना अधिकारी कविन्द्रसिंह बोहोराले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।