काठमाडौँ उपत्यकाको यातायात प्रणाली सुधार्न सन् २०५० सम्मको दीर्घकालीन गुरुयोजना सार्वजनिक

काठमाडौँ, २१ साउन । काठमाडौँ उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउने उद्देश्यका साथ सन् २०५० सम्मको दीर्घकालीन यातायात गुरुयोजना तर्जुमा गरिएको छ।

‘जीवन्त र सांस्कृतिक काठमाडौँ उपत्यकाका लागि दिगो, सुरक्षित र समावेशी यातायात गुरुयोजना’ सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाले उपत्यकाको पूर्व–पश्चिम तथा उत्तर–दक्षिण सडक सञ्जाललाई सुदृढ बनाउन यस गुरुयोजनाले रणनीतिक भूमिका खेल्ने बताउनुभयो। उहाँले तीव्र सहरीकरण र सवारी चापलाई मध्यनजर गर्दै पूर्व र पश्चिम क्षेत्रलाई जोड्ने वैकल्पिक मार्ग तथा प्रमुख चोकहरूको पुनःसंरचनामा जोड दिनुपर्ने उल्लेख गर्नुभयो।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालका अनुसार यस गुरुयोजनामा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी २२ वटा सडक पूर्वाधारसम्बन्धी र सार्वजनिक यातायात सुधारका १३ वटा कार्यक्रमहरू प्रस्ताव गरिएको छ।

गुरुयोजनाले चक्रपथमा मास ट्रान्जिट प्रणाली, रत्नपार्कदेखि भक्तपुरसम्म उच्च क्षमतायुक्त सार्वजनिक यातायात सेवा, र यातायात व्यवस्थापनलाई कम्पनी मोडेलमा रूपान्तरण गर्ने नीतिलाई प्राथमिकता दिएको छ। यसैगरी, सवारी साधन सञ्चालनका लागि वैज्ञानिक रुट व्यवस्थापन तथा संस्थागत सुधारलाई पनि गुरुयोजनामा समेटिएको छ।

नयाँ पुल तथा सडक स्तरोन्नति: विष्णुमती, धोबीखोला र ग्वार्कोमा नयाँ पुल, सातदोबाटो–गोदावरी जोड्ने कर्मनाशा पुल, बागमती नदी किनार कोरिडोरको स्तरोन्नति तथा बौद्धमार्ग सडक चोक सुधार।
सुरुङ तथा आकासे मार्ग: महाराजगञ्ज र चाबहिल–गौशाला खण्डमा भूमिगत मार्ग (अन्डरपास/सुरुङ), चाबहिल–बागमती र त्रिपुरेश्वर–माइतीघर क्षेत्रमा नयाँ आकासे पुल।
व्यवस्थित सहरी पूर्वाधार: ठमेल, ललितपुर र काठमाडौँ महानगर क्षेत्रमा व्यवस्थित कार पार्किङ, साइक्लिङ पथ, सडक चोक स्तरोन्नति, ट्राफिक सेफ्टी र चक्रपथ बाहिर पार्किङ सुविधा।

यस गुरुयोजना तर्जुमामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक टोलीले प्राविधिक तथा रणनीतिक सहयोग पुर्‍याएको छ। पूर्वाधार विकास मन्त्रालयको संयोजकत्वमा तयार पारिएको यस गुरुयोजनाले काठमाडौँ उपत्यकामा एकीकृत, दक्ष, सुरक्षित र वातावरणमैत्री सहरी यातायात प्रणालीको विकासका लागि दीर्घकालीन रणनीतिक मार्गदर्शन प्रदान गरेको छ।