इन्टर्न चिकित्सकको अनशन तोडियो: निर्वाह भत्ता र कार्यघण्टा लगायतका मागमा सरकारसँग ५ बुँदे सहमति

काठमाडौँ, २२ साउन । एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूको निर्वाह भत्तामा एकरूपता र अन्य पेसागत माग राख्दै चार दिनदेखि आमरण अनशनमा बसेका इन्टर्न चिकित्सक डिल्ली हरिजन र सरकारबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ । सहमतिसँगै वीर अस्पताल परिसरमा अनशनरत हरिजनले सरकारी वार्ता टोलीको हातबाट जुस पिएर अनसन तोडेका छन् ।

शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको सरकारी वार्ता टोली र ‘एमबीबीएस तथा बीडीएस इन्टर्न निर्वाह भत्ता एकरूपता अभियान’का प्रतिनिधिबीचको गहन वार्तापछि यो सहमति जुटेको हो ।

१. निर्वाह भत्तामा पुनरावलोकन: एमबीबीएस र बीडीएस इन्टर्न विद्यार्थीलाई स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलब स्केलको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयमा आगामी साउन २८ गते सरोकारवाला निकायहरूसँग विस्तृत छलफल गरिने भएको छ । उक्त छलफलमा चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय र निजी मेडिकल कलेजका प्रतिनिधिहरू समेत सहभागी हुनेछन् ।
२. कार्यघण्टामा एकरूपता: श्रम ऐन, २०७४ बमोजिम आवासीय तथा इन्टर्न चिकित्सकहरूको कार्यघण्टा सरकारी र निजी दुवै क्षेत्रका शिक्षण संस्थाहरूमा समान रूपमा लागू गर्न एक समिति गठन गरिने भएको छ । समितिको प्रतिवेदनका आधारमा यसलाई कार्यान्वयनमा लैजाने सहमति भएको छ ।
३. अतिरिक्त शुल्क छानबिन: मेडिकल कलेजहरूले सरकारले तोकेको भन्दा बढी असुलेको अतिरिक्त शुल्क (एक्स्ट्रा फी) का सम्बन्धमा छानबिन गरी फिर्ता गराउने र स्वीकृत शुल्क मात्र लागू गराउने विषयमा सरकारले पहल गर्नेछ ।
४. छात्रावासलाई वैकल्पिक बनाइने: एमबीबीएस र बीडीएस विद्यार्थीका लागि छात्रावास (Hostel) अनिवार्य नभई ऐच्छिक बनाउने सम्बन्धी चिकित्सा शिक्षा आयोगको यसअघिको परिपत्रलाई प्रभावकारी रूपमा कार्यान्वयन र अनुगमन गरिनेछ ।
५. निर्णय प्रक्रियामा प्रतिनिधित्व: राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार आयोगको बैठकमा इन्टर्न चिकित्सकका मागहरूका सम्बन्धमा छलफल हुँदा अभियानका प्रतिनिधिलाई अनिवार्य रूपमा आमन्त्रण गर्ने सहमति भएको छ ।

शिक्षा मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा भएको वार्तामा स्वास्थ्य मन्त्रालयका डा. समीरकुमार अधिकारी, उपसचिव मधु घिमिरे र शिक्षामन्त्रीका स्वकीय सचिव आदित्य कर्ण सहभागी हुनुहुन्थ्यो । सरकारले साउन २८ गते हुने बृहत् छलफलबाट इन्टर्न चिकित्सकका मागहरूलाई ठोस रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।