धनुषामा ग्यास वितरणमा कडाइ : प्रतिपरिवार एक सिलिन्डर मात्र बिक्री गर्न प्रशासनको निर्देशन
काठमाडौँ, साउन २१ । धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालयले वितरण प्रणालीमा कडाइ गरेको छ । बजारमा ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न र कृत्रिम अभाव हुन नदिन अबदेखि प्रतिपरिवार एक सिलिन्डर मात्र बिक्री गर्ने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको अध्यक्षतामा बसेको सरोकारवाला निकाय, ग्यास उद्योगी तथा बिक्रेताहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । ग्यासको समानुपातिक वितरणका लागि प्रशासनले विभिन्न बुँदे निर्देशन समेत जारी गरेको छ ।
अभिलेख राख्नुपर्ने र घरेलु उपभोक्तालाई प्राथमिकता
नयाँ व्यवस्था अनुसार जिल्लाका एलपिजी ग्यास उद्योगहरूले दैनिक बिक्रीको विवरण अनिवार्य रूपमा राख्नुपर्नेछ । ग्यास आपूर्ति गर्दा धनुषा जिल्लालाई प्राथमिकतामा राख्न उद्योगहरूलाई निर्देशन दिइएको छ । यस्तै, ग्यास बिक्रेता वा डिपोहरूले उपभोक्तालाई ग्यास बिक्री गर्दा नाम, ठेगाना र सम्पर्क नम्बरसहितको अभिलेख दुरुस्त राख्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार, व्यावसायिक प्रयोजन (होटल, रेस्टुरेन्ट आदि) भन्दा घरेलु उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्नुपर्नेछ ।
कालोबजारी गर्नेलाई कानुनी कारबाहीको चेतावनी
प्रशासनले उपभोक्ताहरूलाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गरेको छ । साथै, बढी नाफा कमाउने उद्देश्यले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको भन्दा बढी मूल्य लिने वा कालोबजारी गर्ने व्यवसायीलाई कडा कानुनी कारबाही गरिने चेतावनी प्रजिअ लुइँटेलले दिनुभयो ।
बजार अनुगमनमा तीव्रता
ग्यासको माग र आपूर्तिलाई सन्तुलनमा राख्न तथा नियमनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले संयुक्त बजार अनुगमन टोलीलाई सक्रिय बनाएको छ । पछिल्लो समय ग्यास आपूर्तिमा केही असहजता देखिएपछि स्थानीय प्रशासनले ग्यास डिपोहरूको नियमित अनुगमन र नियमनलाई तीव्र पारेको छ ।