दुई दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह जङ्गलमा मृत फेला
कपिलवस्तु, २४ साउन । विगत दुई दिनदेखि बेपत्ता रहनुभएका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर एवं नेपाली कांग्रेसका नेता किरण सिंह जङ्गलमा मृत अवस्थामा फेला पर्नुभएको छ।
कपिलवस्तु प्रहरीका निमित्त सूचना अधिकारी दिपक कुँवरका अनुसार तौलिहवा–गोरुसिंगे क्षेत्रको जङ्गलमा सिंहको शव आइतबार फेला परेको हो। गत शुक्रबारदेखि हराइरहनुभएका सिंहको खोजीका लागि प्रहरीले ड्रोन क्यामेरा तथा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको केनाइन शाखाबाट विशेष तालिमप्राप्त ट्र्याकिङ कुकुरसहितको प्राविधिक टोली परिचालन गरेको थियो।
प्रहरीका अनुसार ६५ वर्षीय सिंह गत शुक्रबार दिउँसो करिब २:०० बजे कपिलवस्तु–३ स्थित आफ्नै घरबाट मोटरसाइकल लिएर निस्कनुभएको थियो। सोही दिन दिउँसो साढे ३:०० बजेतिर उहाँले आफूनिकटका व्यक्तिहरूलाई फोन गरी ‘जङ्गलमा बाटो बिर्सिएँ’ भनी जानकारी गराउनुभएको थियो। त्यसलगत्तै उहाँको मोबाइल फोन सम्पर्कविहीन बनेको थियो।
खोजतलासका क्रममा आफन्त र प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जङ्गल क्षेत्रमा उहाँले प्रयोग गर्ने गरेको लु. प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल फेला पारेको थियो। मोटरसाइकल भेटिएको क्षेत्र आसपास ठूलो सङ्ख्यामा सुरक्षाकर्मी र स्थानीयवासी परिचालन गरी खोजी गर्दा आइतबार उहाँको शव फेला परेको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक कानुनी अनुसन्धान अघि बढाएको छ।