ग्यासको कृत्रिम अभाव र कालोबजारी रोक्न सरकार कठोर: डिपोहरूमा सुरक्षाकर्मी परिचालन, अनुगमन तीव्र

काठमाडौँ, २४ साउन । बजारमा खाना पकाउने एलपी ग्यासको  अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि सरकारले अनुगमन र नियन्त्रणको कार्यलाई तीव्र पारेको छ । गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा बजारमा निगरानी बढाइनुका साथै ग्यास डिपोहरूमा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।

भारतबाट ग्यासको आयात नियमित भइरहे पनि बजारमा अभाव देखिएकाले सरकारले ग्यास लुकाएर महँगोमा बेच्ने प्रवृत्ति नियन्त्रण गर्न उद्योगमन्त्री गौरीकुमारी यादवले गृहमन्त्री सुधन गुरुङसँग विशेष समन्वय गर्नुभएको थियो ।

मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले काठमाडौँ उपत्यकाका ग्यास डिपोहरूमा सुरक्षाकर्मी परिचालन गरी वितरणलाई पारदर्शी बनाउन र कालोबजारी गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको छ ।

उद्योग मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीका अनुसार ग्यासको आपूर्तिमा कुनै प्राविधिक समस्या छैन । “भारतबाट नियमित रूपमा ग्यास आइरहेको छ, तर बजारमा कृत्रिम अभाव सिर्जना गरिएको सूचनापछि हामीले अनुगमनलाई कडा बनाएका छौँ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सुरक्षा निकायको सहयोगमा शङ्कास्पद डिपो र स्टोरहरूमा आकस्मिक छापा मार्ने कार्य सुरु गरेको छ । ग्यास लुकाउने, अनावश्यक सञ्चय गर्ने वा तोकिएको भन्दा बढी मूल्यमा बिक्री गर्ने जोकोहीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।