स्याङ्जामा ‘एक सामुदायिक वन-एक पोखरी’ अभियान प्रभावकारी : हालसम्म ३४ पोखरी निर्माण
काठमाडौँ, साउन २६ । स्याङ्जा जिल्लामा पानीका मुहान संरक्षण र वन्यजन्तु व्यवस्थापनका लागि सञ्चालित ‘एक सामुदायिक वन-एक पोखरी’ अभियान अन्तर्गत यस वर्ष थप सातवटा रिचार्ज पोखरी निर्माण गरिएको छ ।
बढ्दो सहरीकरण र अव्यवस्थित सडक निर्माणका कारण प्राकृतिक मुहानहरू सुक्दै गएपछि तल्लो तटीय क्षेत्रमा पानीको स्रोत बढाउने उद्देश्यले वनको माथिल्लो भागमा यी पोखरीहरू निर्माण गरिएका हुन् । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ देखि सुरु गरेको यस अभियानलाई डिभिजन वन कार्यालय स्याङ्जाले जिल्लाका विभिन्न सामुदायिक वनहरूमा कार्यान्वयन गरिरहेको छ ।
डिभिजन वन कार्यालयका वन अधिकृत अम्मरबहादुर पराजुलीका अनुसार यस वर्ष सातवटा पोखरी थपिएसँगै जिल्लाभर रिचार्ज पोखरीको सङ्ख्या ३४ पुगेको छ । कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा चार, २०७९/८० मा आठ, २०८०/८१ मा १२, २०८१/८२ मा तीन र चालु आर्थिक वर्षमा सातवटा पोखरी निर्माण सम्पन्न भएका हुन् ।
वन अधिकृत पराजुलीले भन्नुभयो, “वन क्षेत्रमा पानीको अभाव हुँदा वन्यजन्तुहरू आहारा र पानीको खोजीमा बस्ती पस्ने जोखिम रहन्छ । रिचार्ज पोखरीले वन्यजन्तुलाई जङ्गलमै पानी उपलब्ध गराउनुका साथै जमिनमुनिको पानी रिचार्ज गरी सुकेका मुहानहरू ब्युँताउन मद्दत पुग्नेछ ।” आगामी दिनमा अन्य सामुदायिक वनहरूमा पनि यस कार्यक्रमलाई विस्तार गरिने उहाँले जानकारी दिनुभयो ।
पोखरी निर्माणका लागि डिभिजन वन कार्यालयले प्रति पोखरी एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यस अभियानबाट स्थानीय उपभोक्ताहरू पनि उत्साहित देखिएका छन् । ज्यानेघारी महिला सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष सीता गोदारले रिचार्ज पोखरीका कारण तल्लो क्षेत्रमा पानीको स्रोत दिगो हुने, पशुचौपायालाई पानी खुवाउन सहज हुने र सिँचाइमा समेत सहयोग पुग्ने बताउनुभयो ।
यस प्रकृतिका पोखरीहरूले जैविक विविधताको संरक्षण गर्नुका साथै वन क्षेत्रलाई थप मनमोहक र पर्यावरणीय रूपमा सन्तुलित बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।