नेपालमा लोकप्रिय बन्दै क्याच एन्ड सर्भ बल, पूर्वराजदूत शाक्य र कावा मेयर डंगोलको यस्तो छ प्रशंसा (भिडियोसहित)

काठमाडौं, ३१ साउन । चावलिहमा रहेको चलचित्र विकास वोर्डको हलमा शनिबार अलिक फरक खालको दृष्य देखियो । प्राय कार्यक्रमहरुका पुरुषको बाहुल्यता हुन्छ । तर, त्यहाँ शनिवारको एक कार्यक्रमा हाँकुपटाँसीमा सजिएका र क्याच एन्ड सर्भ बल नेपालको लोगोसहितको जर्सी लगाएका महिलाहरुको बाहुल्यता देखिन्थ्यो । अझ गज्जब त के थियो भने उक्त कार्यक्रमको प्रमुख अतिथि र विशिष्ट अतिथि पनि महिला नै हुनुहुन्थ्यो  ।

इजरायलका लागि नेपाली राजदूत तथा राष्ट्रिय सभा सदस्य डाक्टर अन्जान शाक्य प्रमुख अतिथि र विशिष्ट अतिथिमा काठमाडौं महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोल हुनुहुन्थ्यो ।  उहाँहरु दुबै कार्यक्रम स्थलमा प्रवेश गर्दा मुस्कानसहित क्याच एन्ड सर्भ बल नेपालको लोगोसहितको जर्सी र हाँकुपटासीमा सजिएका महिलाहरुले स्वागत गरेका थिए ।

‘खेलमा समानता र स्वस्थ जीवनका लागि खेलकुद’ भन्ने मान्यतासहित ‘चुलोचौकादेखि अन्तर्राष्ट्रिय खेल मैदानसम्म’ भने मूल नारालाई आत्मसाथ गर्दै  मनास्लु महिला क्षमता विकास केन्द्र ‘क्याच एन्ड सर्भ बल नेपाल’ मा नयाँ खेलका रुपमा विकास भएको छ । हो, त्यहि संस्थाले आफ्नो स्थापना भएको एक वर्ष पूरा भएको अवसरमा प्रथम वार्षिकोत्सव तथा साधारण सभाको आयोजना गरेको स्थलमा यस्तो फरक खालको दृष्य देखिएको हो ।

इजरायलसहित युरोपमा लोकप्रिय रहेको क्याच एन सर्भ बल करिब ३–४ बर्ष अघिसम्म नेपालमा चर्चामा थिएन ।  इजरायलमा काम गर्ने केही नेपाली महिलाहरुले इजरायलमा सिकेको यो खेललाई नेपाल भित्र्याएपछि यसको चर्चा चुलिएको हो । तानिनीदेखि हजुरआमासम्मको शारीरिक, मानसिक, सामाजिक तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यका साथ नेपालमा सुरु भएको यो खेल पछिल्लो समय मनास्लु महिला क्षमता विकास केन्द्रले चर्चामा ल्याएको हो ।

एक वर्ष अघि अन्योलका बिच सुभारम्भ भएको संस्थाले आफ्नो पहिलो वार्षिकोत्सव तथा साधारण सभासम्म आइपुग्दा आफूलाई निकै अब्बल बनाउन सफल भएको छ भन्ने सन्देश चलचित्र विकास बोर्डको हलमा खचाचख मानिसहरुका बिच गरेको भव्य कार्यक्रमले पनि देखाउन्थ्यो ।

इजरायलदेखिनै साथमा रहनु भएकी डाक्टर शाक्यले समेत निकै महत्वका साथ कार्यक्रममा देखाएको उपस्थितिले पनि उनीहरुमा थप उत्साह भरिएको देखिन्थ्यो । त्यसो त काठमाडौँ महानगरपालिकाकी कार्यबाहक मेयर डंगोलले पनि उनीहरुलाई हौसला प्रदान गर्दै कार्यक्रमस्थलमा लामो समय विताउनु भएको थियो ।

कार्यक्रमको उद्घाटनसँगै खेलाडीहरुले जर्सीमै देखाएको नृत्य हेरेर मुस्कुराइरहनु भएका शाक्य र डंगोल बिचबिचमा उत्साहित भएको देखिन्थ्यो । कार्यक्रममा सम्वोधनं गर्दै पूर्वरादूत शाक्यले आफूले रोपेको विऊ यसरी हुर्किएर फल दिन थालेको देख्दा खुशी लागेको भन्दै प्रसंशा गर्नुभयो । उहाँले पहिलो वार्षिक उत्सवमै देखिएको उत्साहले आफूलाई थप उत्साहित बनाएको भन्दै आगामी दिनमा थप सफलताको शुभकामना दिनुभयो  ।

विशिष्ट अतिथि डंगोलले पनि उक्त संस्थाको स्थापना गर्दाताका उहाँहरुले भोग्नुपरेका हैरानीदेखि नै जानकार रहेको भन्दै स्थापनाको एकवर्षमा गरेको उत्साह लाग्दो प्रगतिको खुलेर प्रशंसा गर्नुभयो । राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्यसचिव टंकलाल घिसिङले क्याच एन्ड सर्भ बल के–हो भन्ने स्पष्ट पार्नुभयो । संस्थाका अध्यक्ष कादम्बरी दाना श्रेष्ठले संस्था स्थापनादेखि अहिलेसम्मका दुःख र हैरानीको पोको खोल्नुभयो । संस्थाका सल्लाहकार युवराज लामा ह्याल्मो, विभिन्न नगरपालिका र वडाका जनप्रतिनिधिलगायतले पनि क्याच एन्ड सर्भ बलका बारेमा बोल्नुभएको थियो ।