भारतीय सेनाध्यक्ष धीरज सेठ आज नेपाल आउँदै, भोलि मानार्थ महारथीको उपाधि दिइने
काठमाडौँ, ३१ साउन । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चार दिने नेपाल भ्रमणका लागि आज अपराह्न काठमाडौँ आइपुग्दै हुनुहुन्छ।
भ्रमणको मुख्य उद्देश्य दुई देशका सेनाबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउनु रहेको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि (सोमबार) राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना हुने एक विशेष समारोहमा जनरल सेठलाई नेपाली सेनाको ‘मानार्थ महारथी’ को दर्जा प्रदान गर्नुहुनेछ।
नेपाल र भारतबीच सन् १९५० देखि एक-अर्काको देशका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी दिने अनुपम र ऐतिहासिक परम्परा रहिआएको छ।
भ्रमणको दोस्रो दिन भोलि नै भारतीय सेनाध्यक्ष सेठ र प्रधानसेनापति अशोकराज सिग्देलबीच सैनिक मुख्यालय जङ्गी अड्डामा औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम छ। भेटवार्ताका क्रममा दुई देशका सेनाबीचको सहकार्य, तालिम, सुरक्षा चासो र आपसी हितका विषयमा छलफल हुने बताइएको छ।
नेपाल र भारतबीचको सैन्य सम्बन्ध विश्वकै घनिष्ठ सम्बन्धमध्ये एक मानिन्छ। दुवै देशका सेनाले संयुक्त सैन्य अभ्यास, उच्चस्तरीय भ्रमण र विपद् व्यवस्थापनका क्षेत्रमा लामो समयदेखि सहकार्य गर्दै आएका छन्।