ग्यास अभावको मुख्य कारण कम आयात, सरकार प्रचारबाजीमा मात्रै व्यस्त: ग्यास बिक्रेता महासंघ

काठमाडौँ, ३१ साउन । ग्यास बिक्रेता महासंघले बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभावप्रति सरकार र नेपाल आयल निगम गम्भीर नभएको आरोप लगाएको छ । महासंघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारी निकायहरू समस्या समाधान गर्नुको साटो ‘अनावश्यक प्रचारबाजी’ र ‘सस्तो लोकप्रियता’ मा लागेको दाबी गरेको हो ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भएअनुसार, विगत चार महिनामा मात्रै करिब ६० हजार मेट्रिक टन ग्यास कम आयात गरिएको छ । आयातमा आएको यही ठूलो गिरावटले नै बजारमा हाहाकार सिर्जना गरेको महासंघको ठहर छ ।
“सरकारले आयात घटेको यथार्थ लुकाएर उपभोक्तालाई भ्रममा पारिरहेको छ,” विज्ञप्तिमा भनिएको छ, “यही अवस्था रहे आगामी दिनमा ग्यासको संकट अझै गहिरिने निश्चित छ ।”

हाल नेपाली बजारमा आवश्यकताभन्दा बढी अर्थात् करिब ८० लाख थान सिलिन्डर छरिएर रहेका छन् । यति ठूलो संख्यामा सिलिन्डर हुँदाहुँदै पनि कम्पनीहरूले नयाँ सिलिन्डर बिक्री गर्ने कार्य नरोकेकाले समस्या थप जटिल बन्दै गएको महासंघले जनाएको छ ।

ग्यासको अभाव हुनुको अर्को मुख्य कारण उद्योग र विभिन्न बिक्री केन्द्रहरूले सिधै ग्यास बिक्री गर्नु रहेको महासंघको दाबी छ । आधिकारिक वितरण च्यानल मार्फत ग्यास वितरण नगरी सरकार र उद्योगहरूले आफैँ बेच्न खोज्दा आपूर्ति प्रणाली नै भत्किएको महासंघको आरोप छ ।

महासंघले बजार अनुगमनका नाममा आम बिक्रेताहरूलाई अनावश्यक दुःख दिने काम भइरहेको भन्दै सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएको छ । यसलाई महासंघले ‘नकारात्मक सरकारी रवैया’ को संज्ञा दिएको छ ।

महासंघका मुख्य मागहरू:
१. ग्यास उद्योग र विभिन्न नामका बिक्री केन्द्रहरूबाट भइरहेको प्रत्यक्ष बिक्री तत्काल बन्द गर्नुपर्ने ।
२. आधिकारिक डिलरमार्फत मात्रै पारदर्शी रूपमा बिक्री वितरणको व्यवस्था मिलाउनुपर्ने ।
३. अनुगमनका नाममा बिक्रेताहरूमाथि गरिने धरपकड र हैरानी बन्द गर्नुपर्ने ।
४. बजारमा रहेका मौज्दात सिलिन्डरको व्यवस्थापन नगरी नयाँ सिलिन्डर बिक्री गर्न रोक लगाउनुपर्ने ।

महासंघले आफ्ना मागहरू सम्बोधन नभए र वितरण प्रणालीमा सुधार नगरिए बिक्रेताहरू थप कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ ।