महानगरका योजना कार्यान्वयनमा कार्यवाहक प्रमुख सक्रिय : दूरगामी कार्यक्रमलाई नतिजामुखी बनाउन निर्देशन
काठमाडौँ, साउन २७ । काठमाडौँ महानगरपालिकाका विभिन्न १७ वटा एकाइ र विभागहरूबाट पेश भएका ५९ वटा दूरगामी महत्त्वका योजनाहरूको प्रभावकारी कार्यान्वयनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले विशेष सक्रियता र अग्रसरता देखाउनुभएको छ। सहरी योजना आयोगका पदाधिकारी, विज्ञ र विभागीय प्रमुखहरूको बैठकमा उहाँले स्वीकृत नीति र कार्यक्रमलाई केवल प्रशासनिक औपचारिकतामा मात्र सीमित नराखी नागरिकले प्रत्यक्ष महसुस गर्ने गरी अर्थपूर्ण रूपमा अगाडि बढाउन कडा निर्देशन दिनुभएको छ।
कार्यवाहक प्रमुख डंगोलले जनसाधारणको दैनिकी, सहरी सुरक्षा, मूर्त अमूर्त सांस्कृतिक सम्पदा संरक्षण र रोजगारमूलक कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेर साउन महिनाभित्रै वार्षिक कार्ययोजना स्वीकृत गराई कार्यान्वयनको चरणमा लैजान विभागीय टोलीलाई ताकेता गर्नुभएको छ ।
विभागीय योजनाहरूका अतिरिक्त कार्यवाहक प्रमुखले महानगरभित्र सडक बत्ती जडान कार्यलाई पूर्णता दिने, ऐतिहासिक सुन्धारामा प्राकृतिक पानीको स्रोत र निकासको दीर्घकालीन व्यवस्थापन गर्ने तथा श्रीगणेश र श्रीभैरवको निवास स्थान निर्माण गर्ने जस्ता विशिष्ट कार्यहरूलाई तत्काल थालनी गर्न निर्देशन दिनुभएको छ ।
त्यस्तै भूमिगत पानी पुनःभरण र पूर्ण मापदण्ड पुगेको पहुँचयुक्त नमुना सडक निर्माणलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ । यस वर्ष महानगरले स्वास्थ्य क्षेत्रमा ठुलो लगानी गर्दै आफ्नै महानगर अस्पताल भवन निर्माणको प्रक्रिया थाल्ने र महानगरवासीका लागि निःशुल्क तथा सहुलियत डायलासिस सेवा सञ्चालन गर्ने योजनालाई उच्च प्राथमिकतामा राखेको छ । शिक्षाको क्षेत्रमा पनि महानगरले नविनतम सोच अघि सारेको छ, जसमा सामुदायिक विद्यालयका सबै कक्षाकोठामा डिजिटल बोर्ड जडान गर्ने र सहायताको विशेष आवश्यकता भएका बालबालिकाका लागि विशेष विद्यालय स्थापना गर्ने जस्ता मानवीय कार्यहरू समावेश छन् ।
सहरलाई सुरक्षित र आधुनिक बनाउन एआई प्रविधिमा आधारित सीसीटीभी जडान गर्ने र भवन निर्माण इजाजत तथा नक्सापास प्रक्रियालाई राष्ट्रिय परिचयपत्र र नागरिक एपसँग आबद्ध गराई सुशासन कायम गर्ने लक्ष्य महानगरले राखेको छ। यसका साथै सामाजिक समावेशीकरण अन्तर्गत फरक पहिचान भएका व्यक्तिहरूका लागि सहायता कक्ष, युवा स्वरोजगारका लागि सहुलियत कर्जा र काम गर्ने अभिभावकका लागि शिशु सेवा केन्द्र र ‘केयर ब्लक’ स्थापना गर्ने जस्ता महत्त्वपूर्ण कार्यक्रमहरूलाई कार्यवाहक प्रमुखले विशेष चासोका साथ कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। सांस्कृतिक पर्यटनलाई प्रवर्द्धन गर्न काठमाडौँ फिल्म फेस्टिभल आयोजना गर्ने र ऐतिहासिक म्हेपी अजिमा तथा नन्दी केशर भवन जस्ता संरचनाहरूको पुन:निर्माण गर्ने कार्यलाई पनि यस वर्षको प्राथमिक सूचीमा पारिएको छ ।
फोहोर व्यवस्थापनलाई वैज्ञानिक पद्धतिबाट समाधान गर्ने र लामो समयदेखि थाती रहेको स्ववासीहरूको जग्गा स्वामित्व सम्बन्धी समस्यालाई सहजीकरण गर्ने कार्यमा पनि महानगरले आफ्नो सक्रियता बढाउने भएको छ। बैठकमा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले विभागीय समन्वय र सामूहिक निर्णयबाट तोकिएको समयभित्रै ठोस नतिजा देखिने गरी कार्यक्रम कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। सहभागी विज्ञहरूले महानगरका योजनाहरूमा साझेदारको स्रोत, सिप र प्रविधि परिचालन गरी एकीकृत नतिजा प्राप्त हुने गरी अघि बढ्न सुझाव दिएका छन् ।
कार्यवाहक प्रमुख डंगोलको यो अग्रसरताले काठमाडौँ महानगरको विकास र व्यवस्थापनमा स्थानीय अपनत्व बढाउने र योजनाबद्ध विकासलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।