भरतपुर खानेपानी व्यवस्थापन बोर्डद्वारा साढे १ करोड बक्यौता असुली : महानगरले अनुदान नदिँदा समस्या
काठमाडौँ, साउन २८ । भरतपुर खानेपानी व्यवस्थापन बोर्डले लामो समयदेखि महसुल नबुझाउने ग्राहकहरूबाट एक करोड ५५ लाख रुपैयाँभन्दा बढी बक्यौता रकम असुल गरेको छ । बोर्डले १ हजार ५०३ जना ग्राहकबाट कुल १ करोड ५५ लाख ३ हजार ६८५ रुपैयाँ बक्यौता संकलन गरेको हो ।
कार्यालयले ५ हजार रुपैयाँभन्दा बढी बक्यौता भएका र ६ महिनाभन्दा लामो समयदेखि महसुल भुक्तानी नगरेका ग्राहकहरूलाई लक्षित गरी असुली अभियान चलाएको थियो । कार्यालय प्रमुख सञ्जय बरालका अनुसार गत फागुनदेखि असार मसान्तसम्मको अवधिमा उक्त रकम संकलन गरिएको हो । बोर्डले अझै ५०० जना पुराना ग्राहकबाट करिब २० लाख रुपैयाँ असुल गर्न बाँकी रहेको जनाएको छ ।
बक्यौता उठाउन बोर्डले विशेष टोली नै गठन गरी घरदैलो गर्ने, पत्राचार गर्ने, एसएमएसमार्फत जानकारी गराउने र ताकेता गर्दा पनि महसुल नतिर्ने ग्राहकको खानेपानी लाइन काट्ने जस्ता कदम चालेको छ ।
लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
गत आर्थिक वर्षमा बोर्डले महसुल सङ्कलनमा उल्लेख्य सफलता हात पारेको छ । वर्षभरि १६ करोड ५९ लाख ४२ हजार १०० रुपैयाँ महसुल बिलिङ गरिएकोमा लक्ष्यभन्दा २.५७ प्रतिशत बढी अर्थात् १६ करोड ९९ लाख ७२ हजार ४४० रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ ।
महानगरले अनुदान रोक्दा आयोजना प्रभावित
एकातर्फ बक्यौता असुलीमा बोर्ड आक्रामक देखिए पनि अर्कोतर्फ भरतपुर महानगरपालिकाबाट पाउनुपर्ने अनुदान रकम नपाउँदा समस्या सिर्जना भएको छ । महानगरले नगरवासीलाई दिँदै आएको मासिक ७ युनिटसम्मको निःशुल्क खानेपानीबापतको शोधभर्ना रकम गत मंसिरदेखि भुक्तानी गरेको छैन ।
विगत ८ महिनादेखिको करिब १ करोड रुपैयाँभन्दा बढी अनुदान रकम रोकिँदा बोर्ड र विभिन्न उपभोक्ता समितिद्वारा सञ्चालित खानेपानी आयोजनाहरूको सञ्चालनमा कठिनाइ भइरहेको प्रमुख बरालले बताउनुभयो । महानगरले समयमै भुक्तानी नदिँदा आयोजनाहरूको दैनिक प्रशासनिक र प्राविधिक कार्यमा समेत असर परेको जनाइएको छ ।