मिथिलामा ‘झुलनोत्सव’ को रौनक: सीताराम र राधाकृष्णलाई झुलामा झुलाउँदै भक्तजन
महोत्तरी, ३१ साउन । ‘सखी हे, झुला पडल फूलबगियाक डार, सीतासँग झुलथी रघुबर, मन हरषित अपार !’
यस्ता सुमधुर लोकभाका र भक्ति संगीतका साथ मिथिलाञ्चल क्षेत्रमा शनिबारदेखि ‘झुलनोत्सव’ (झुला पर्व) विधिवत् रूपमा सुरु भएको छ । साउन शुक्ल तृतीयादेखि साउन पूर्णिमासम्म मनाइने यो पर्व मिथिलाको विशिष्ट सांस्कृतिक र धार्मिक पहिचान हो ।
हिन्दू परम्पराका आराध्यदेव भगवान् विष्णु र लक्ष्मीको आराधना गरिने यस पर्वमा उनीहरूका अवतार राम–सीता र राधा–कृष्णका प्रतिमालाई कलात्मक झुलामा राखेर भक्ति गीतको लयमा झुलाउने गरिन्छ । मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवका अनुसार, यो पर्व भगवानको बालस्वरुपलाई कोक्रामा हल्लाएर स्नेह प्रकट गर्ने माध्यम हो । “माता कौशल्या र यशोदाले कोक्रामा हल्लाएको प्रतीकात्मक सम्झनामा यो पर्व मठमन्दिरमा सामूहिक रूपमा मनाइन्छ,” उहाँले भन्नुभयो ।
शनिबार साँझदेखि महोत्तरीको ऐतिहासिक मटिहानीस्थित लक्ष्मीनारायण मन्दिर, जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर तथा विभिन्न वैष्णव मठहरूमा झुलाको रौनक सुरु भएको छ । मटिहानीमा त विशेष ‘झुलाघर’ नै निर्माण गरिएको छ, जहाँ डोलीमा बोकेर ल्याइएका प्रतिमालाई श्रद्धाका साथ झुलाइन्छ । श्रद्धालुहरूले झुलाको डोरी समातेर भक्तिभावका साथ हल्लाउने र झुला, मलार एवं कजरी जस्ता लोकभाकाहरू गाउने गर्छन् ।
मिथिलामा यो पर्व करिब ३०० वर्षअघि (वि.सं. १७८७ तिर) सन्त सुरकिशोर दासले सुरु गरेको मानिन्छ । जनकपुरधाम सीताको माइती भएकाले ‘पाहुना’का रूपमा रहेका राम र सीतालाई प्रसन्न तुल्याउन यो उत्सव मनाउने गरिएको जनविश्वास छ । झुला पर्वको अर्को महत्वपूर्ण पक्ष जनकपुरस्थित ‘मणिपर्वत’ सँग जोडिएको छ । राम–सीताको विवाहमा राजा जनकले दिएको दाइजो थुप्रिएर पहाड बनेको विश्वास गरिने यस पर्वतको पूजा गरी झुलनोत्सवको शुभारम्भ गर्ने परम्परा छ ।
मैथिली भाषाका जानकार उपप्राध्यापक मनोज झा मुत्तिका अनुसार, मिथिला पञ्चाङ्गमा साउनदेखि नै नयाँ वर्षको सुरुवात मानिन्छ । “मधुश्रावणी, नागपञ्चमी, झुला र रक्षाबन्धनसँगै मिथिलामा वर्षभरिका चाडबाडको सिलसिला सुरु भएको मानिन्छ,” उहाँले भन्नुभयो ।
साउन पूर्णिमाका दिन झुलाको डोरी चुँडालेर यो १५ दिने लामो उत्सवको समापन गरिनेछ । अहिले मिथिलाका गाउँ र नगरका मठमन्दिरहरूमा भक्ति संगीतको गुञ्जनले वातावरणलाई आध्यात्मिक र उल्लासमय बनाएको छ ।