झापाको मेचीनगरमा धानबारीमा मृत फेला पर्यो जंगली हात्ती, १६ वर्षमा २८ हात्तीको मृत्यु

 

झापा, भदौ ३१ ।   झापाको मेचीनगर नगरपालिका–३, तेलपानीस्थित एक धानबारीमा आज बिहान जंगली हात्ती मृत फेला परेको छ।

डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहीवार यादवका अनुसार स्थानीय बासिन्दाले धानखेतमा वयस्क दाह्रे हात्ती मृत अवस्थामा देखेर खबर गरेपछि घटनास्थलतर्फ वन कार्यालयको टोली परिचालन गरिएको छ। हात्तीको मृत्युको यकिन कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

मेचीनगरको वडा नं २, ३, ४ र ५ मा लामो समयदेखि जंगली हात्तीले मानवीय क्षति पुर्याउनुका साथै किसानको खेतीबालीमा ठूलो नोक्सानी गर्दै आएका छन्। झापामा मेची नदी पार गरेर भारतीय जंगलबाट ठूलो संख्यामा जंगली हात्ती चरणका लागि आउने गरेका छन् भने स्थानीय जंगलमा बस्ने रैथाने हात्तीको संख्या पनि पछिल्ला वर्षहरूमा बढेको छ।

डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो १६ वर्षको अवधिमा झापाका विभिन्न क्षेत्रमा २८ वटा जंगली हात्ती मृत फेला परिसकेका छन्। यस घटनाको थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *