कर्णालीमा सत्ता साझेदार दलबीच मन्त्रालय बाँडफाँट, ६ बुँदे सहमति

सुर्खेत, ३ भदौ । कर्णाली प्रदेशमा सत्ता साझेदार दुई प्रमुख दलहरू नेकपा र नेकपा (एमाले) बीच मन्त्रालय बाँडफाँटसहित ६ बुँदे सहमति भएको छ । प्रदेश सरकार गठन र सञ्चालनका सन्दर्भमा आज वीरेन्द्रनगरमा बसेको दुवै दलको बैठकले मन्त्रालयको टुङ्गो लगाएको हो ।
सहमति अनुसार नेकपाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चार वटा मन्त्रालयको जिम्मेवारी पाउने भएको छ । नेकपाले भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको छ ।

त्यसैगरी, नेकपा (एमाले) ले आर्थिक मामिला तथा योजना, सामाजिक विकास र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय सम्हाल्ने भएको छ । नेकपा कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले मन्त्रालय बाँडफाँटको विषयमा औपचारिक सहमति भएको जानकारी दिनुभयो ।

मन्त्रालयको भागबन्डासँगै सरकार सञ्चालनका लागि नीतिगत विषयमा पनि दुई दलबीच समझदारी भएको छ । प्रशासनिक संरचना सुधारका लागि यसअघि भएका निर्णयहरूलाई निरन्तरता दिने र आर्थिक वर्ष २०८३/०८४ को बजेट पारित गर्ने समयमा दलहरूबीच भएको सहमतिलाई कार्यान्वयन गर्ने बुँदा सहमति पत्रमा उल्लेख छ ।

यस्तै, विगतको नीतिलाई निरन्तरता दिँदै ३० लाख रुपैयाँभन्दा माथिका योजनाहरू अनिवार्य रूपमा ठेक्का प्रक्रियामार्फत मात्र कार्यान्वयन गर्ने सहमति भएको छ । प्रदेश सरकारलाई सुशासन, पारदर्शिता र मितव्ययिताका साथ अगाडि बढाउने प्रतिबद्धता समेत दुवै दलले जनाएका छन् ।