ज्येष्ठ नागरिक जागरण नेपालको दोस्रो साधारण सभा सम्पन्न; कक्षा ५ सम्मको शिक्षा र ज्येष्ठ नागरिकको जीवन सहज बनाइने
काठमाडौँ, ३ भदौ । ज्येष्ठ नागरिक जागरण नेपालको दोस्रो वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम–२०८३ काठमाडौँको कपनस्थित त्रि–ज्योति माध्यमिक विद्यालयमा भव्यताका साथ सम्पन्न भएको छ । बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा ज्येष्ठ नागरिकको हकहित र सामाजिक सहभागिताका विषयमा विशेष छलफल गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले अध्यक्ष बाबुराम फुयाँलकाे अध्यक्षता मात्र नभएर अभिभावकीय भूमिकाकाे चर्चा गर्नु भयाे । उहाँले बाबुराम फुयाँलले आफ्नाे स्वास्थ्य भन्दा बाबु आमाकाे स्वास्थ्य प्रमुख स्थानमा राखेर सेवा गरिरहनुभएकाे भन्दै नगरपालिकाबाट यस वर्ष संस्थाका लागि बजेट छुट्याएकाे पनि बताउनुभयाे ।
वडा नं. १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले ज्येष्ठ नागरिकहरू समाजको ‘जीवित इतिहास र अनुभवको भण्डार’ भएको बताउनुभयो । उहाँहरूले ज्येष्ठ नागरिकलाई केवल संरक्षणको पात्र मात्र नबनाई उनीहरूको ज्ञानलाई नयाँ पुस्तासँग जोड्नुपर्नेमा जोड दिनुभयो ।
साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार, २०८१ साल पुस २४ गते दर्ता भएको यस संस्थाले छोटो अवधिमा उल्लेख्य प्रगति गरेको छ । संस्थाले २०८१ फागुन १० गतेदेखि ज्येष्ठ नागरिकका लागि निरन्तर आधारभूत तथा प्रविधिमूलक शिक्षा सञ्चालन गरिरहेको छ । हाल ४७ जना ज्येष्ठ आमाहरूले संस्थामा अध्ययन गरिरहनुभएको छ भने ठाउँ अभावका कारण अन्य १५० भन्दा बढी इच्छुकलाई सेवा दिन नसकिएको संस्थाले जनाएको छ ।
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले हालसम्म ४ लाख ६६ हजार ३ सय ५२ रुपैयाँ आम्दानी गरी ४ लाख ६१ हजार १ सय ५२ रुपैयाँ खर्च भएको र ५ हजार २ सय रुपैयाँ बचत रहेको जानकारी दिएको छ ।
संस्थाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि करिब १५ लाख रुपैयाँको बजेट लक्ष्यसहित विभिन्न महत्त्वाकांक्षी योजनाहरू अघि सारेको छ:
१. औपचारिक शिक्षा: हाल सञ्चालित अनौपचारिक शिक्षालाई जिल्ला शिक्षा कार्यालयबाट स्वीकृति लिई कक्षा ५ सम्म पुर्याउने लक्ष्य राखिएको छ ।
२. कार्यक्षेत्र विस्तार: भदौ महिनादेखि बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ मा पनि प्रौढ शिक्षा सञ्चालन गरिनेछ ।
३. स्वास्थ्य र प्रविधि: ज्येष्ठ नागरिकका लागि मासिक निःशुल्क स्वास्थ्य शिविर, विद्युतीय तालिम र अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरिनेछ ।
४. जनशक्ति व्यवस्थापन: संस्थाको उद्देश्य प्राप्तिका लागि ५ देखि १० जना शिक्षक तथा सहयोगी कर्मचारी करारमा नियुक्ति गर्ने योजना छ ।
कार्यक्रममा समाजमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न व्यक्तित्व तथा ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो । संस्थामा हाल ७ जना आजीवन सदस्य र ५३ जना अभियन्ताहरू आबद्ध रहेका छन् । स्थानीय सरकार र विभिन्न सामाजिक संघसंस्थाहरूसँगको सहकार्यमा ज्येष्ठ नागरिकको जीवनलाई सहज र सम्मानित बनाउन आफूहरू प्रतिबद्ध रहेको संस्थाले जनाएको छ ।