पाँच प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ४ भदौ । हाल देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश भूभागमा बदली र वर्षाको क्रम जारी रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानको आसपासमा रहेकाले देशभर साधारणतया बदली रहेको छ ।
अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । पहाडी भूभागका धेरै स्थानहरू तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । विशेषगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ ।
यस्तै, हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना छ भने कोशी र मधेस प्रदेशका तराईका केही क्षेत्रमा हुरीबतास चल्न सक्ने प्रक्षेपण गरिएको छ ।
आज राति पनि देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा पनि हिमाली क्षेत्रमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
भारी वर्षा, मेघगर्जन, चट्याङ र हुरीबतासका कारण हुन सक्ने जोखिमबाट बच्न तथा नदी किनार एवं भिरालो जमिन आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।