नेपालगञ्ज–पोखरा हवाई उडान भदौ ३१ देखि पुनः सञ्चालन हुने
नेपालगञ्ज, ४ भदौ । लामो समयदेखि स्थगित रहेको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा आगामी भदौ अन्तिम सातादेखि पुनः सञ्चालनमा आउने भएको छ । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले भदौ ३१ गतेदेखि यस रुटमा उडान सुरु गर्ने तयारी गरेको हो ।
यात्रुहरूको बढ्दो माग र पर्यटकीय चहलपहललाई ध्यानमा राख्दै उडान पुनः सुरु गर्न लागिएको बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहले जानकारी दिनुभयो । उहाँका अनुसार भारतको उत्तर प्रदेशका विभिन्न सहरहरूलाई पर्यटकीय नगरी पोखरासँग सिधा जोड्न यो उडान प्रभावकारी देखिएको छ ।
यसअघि भारतीय धार्मिक पर्यटकको सङ्ख्यामा कमी आएको र इन्धनको मूल्य वृद्धिका कारण लागत बढेपछि गत जेठ ५ गतेदेखि यो रुटको उडान रोकिएको थियो । “अहिले पुनः धार्मिक पर्यटकको आगमन बढ्न थालेको र उडानको माग पनि उच्च रहेकाले सेवा सुरु गर्ने निर्णय भएको हो,” शाहले भन्नुभयो ।
बुद्ध एयरले साताको तीन दिन आइतबार, बुधबार र शुक्रबार नेपालगञ्ज–पोखरा उडान भर्ने तालिका सार्वजनिक गरेको छ । उडानका लागि अनलाइन तथा एजेन्सीमार्फत बुकिङ समेत खुल्ला गरिसकिएको कम्पनीले जनाएको छ ।
नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुने भएपछि बाँकेका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् । पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले यो उडानले पश्चिम नेपाल र छिमेकी भारतीय सहरका नागरिकलाई पोखरासँग सिधा सम्पर्क स्थापित गर्ने बताउनुभयो । “हवाई सेवा सञ्चालनमा आएसँगै पोखरा क्षेत्रका पर्यटकलाई नेपालगञ्जको बागेश्वरी मन्दिर र भारतको अयोध्यास्थित धार्मिक स्थलसम्म पुग्न सहज हुनेछ,” श्रेष्ठले भन्नुभयो, “यसले बाँके, बर्दिया, दाङ र सुर्खेतका बासिन्दालाई पोखरा र मुस्ताङ भ्रमणका लागि समेत मार्गप्रशस्त गर्नेछ ।”