सङ्घीय संसद्का ९ समितिको बैठक आज; अख्तियारदेखि राष्ट्र बैंक ऐनसम्म छलफलका एजेन्डा

काठमाडौँ, ४ भदौ । सङ्घीय संसद् अन्तर्गतका विभिन्न ९ वटा संसदीय समितिका बैठकहरू आज एकैसाथ बस्दैछन् । प्रतिनिधिसभाको बैठक भदौ ८ गते र राष्ट्रियसभाको बैठक शुक्रबारका लागि तय भएकाले आज धेरै वटा समितिले आफ्ना कार्यसूचीमाथि छलफल गर्न बैठक आह्वान गरेका हुन् ।

१. अर्थ समिति (११:०० बजे): ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ । बैठकमा अर्थमन्त्री र अर्थसचिवलाई समेत आमन्त्रण गरिएको छ ।
२. राज्य व्यवस्था तथा सुशासन समिति (११:०० बजे): अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग आयोगको पछिल्लो कामकारबाही र सुशासनका विषयमा छलफल गर्ने कार्यसूची छ ।
३. सार्वजनिक लेखा समिति (१०:०० बजे): नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षण र त्यसको प्रभावकारिताका सम्बन्धमा छलफल हुनेछ ।
४. अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति (११:०० बजे): प्रस्तावित ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा होटल एसोसिएसन नेपाल (हान) लगायतका सरोकारवाला निकायसँग सुझाव लिइनेछ ।
५. शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति (१०:०० बजे): ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल केन्द्रित हुनेछ ।
६. कृषि तथा प्राकृतिक स्रोत समिति (१०:०० बजे): रासायनिक मलको प्रयोग घटाउँदै जैविक तथा प्राङ्गारिक मलको उत्पादन र बिक्री वितरण सुधार गर्ने सम्बन्धमा मल उत्पादकहरूसँग छलफल हुनेछ ।
७. पूर्वाधार विकास समिति (१०:०० बजे): अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गत सञ्चालित ‘बागमती ब्युटिफिकेसन’ आयोजनाको प्रगति र समस्याबारे छलफल हुनेछ ।
८. उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति (१०:०० बजे): समितिमा प्राप्त भएका विभिन्न उजुरीहरूमाथि केन्द्रित रहेर छलफल हुने जनाइएको छ ।
९. विधायन व्यवस्थापन समिति (१:०० बजे): विधायिकी अन्तरसम्बन्धका विषयमा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका प्रतिनिधिहरूसँग परामर्श गर्ने कार्यक्रम छ ।

संसद्को अधिवेशन चालु रहेकै अवस्थामा संसदीय समितिहरूले कानुन निर्माण र सरकारको कामकारबाहीको निगरानीलाई तीव्रता दिएका छन् ।