नागरिकसँग प्रत्यक्ष जोडिएका विषयमा प्राथमिकताका साथ निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोल : शिक्षकलाई सामाजिक सुरक्षा र जग्गा आयोजनाका पीडितलाई न्यायको बाटो

काठमाडौँ, भदौ ४ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा सम्पन्न ५६ औँ कार्यपालिका बैठकले नगरबासी र कर्मचारीको हितमा दुईवटा दुरगामी र प्रशंसनीय निर्णय गरेको छ । दशकौँदेखि जग्गा विकास आयोजनाका कारण मर्कामा परेका उपभोक्ताको समस्या समाधान गर्न उच्चस्तरीय अध्ययन समिति गठन गर्ने र महानगरको आन्तरिक स्रोतबाट कार्यरत ४८१ जना शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने ऐतिहासिक निर्णय बैठकले गरेको हो । कार्यवाहक प्रमुख डंगोलको यो तत्परताले स्थानीयको कानुनी जटिलता सुल्झिने र श्रमको सम्मान हुने विश्वास लिइएको छ ।

जग्गा विकास आयोजनाका पीडितलाई राहतको खोजी
चमती, नयाँ बजार लगायतका जग्गा विकास आयोजना क्षेत्रमा नापी कार्यालयले फरक फरक समयमा कायम गरेको नदी र सडकको मापदण्डका कारण स्थानीय उपभोक्ताले ठूलो सास्ती खेप्नु परेको थियो । कार्यपालिका सदस्यहरू मचाराजा महर्जन, ईश्वरमान डंगोल र रोजिना श्रेष्ठले उठाएको जनगुनासोलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, “स्थानीयको मर्का र पीडाप्रति महानगर संवेदनशील छ । विभिन्न तहका मापदण्डका कारण सिर्जित यो कानुनी जटिलतालाई भदौभित्रै प्रतिवेदन आउने गरी अध्ययन समिति गठन गरिएको छ ।”

सुशासन, भवन व्यवस्था, विधायन, प्रशासन, कानुन र सहरी व्यवस्थापन विभाग सम्मिलित संयुक्त समितिले यसको कानुनी निकास पहिल्याउनेछ ।

शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षाको ग्यारेन्टी
महानगरपालिकाले आफ्नै स्रोतबाट नियुक्ति गरेका शिक्षक र कर्मचारीको भविष्य सुरक्षित गर्न सामाजिक सुरक्षा कोष (SSF) मा आवद्ध गराउने निकै महत्वपूर्ण र स्वागतयोग्य निर्णय गरेको छ । यसबाट नेपाल भाषा प्रशिक्षण सहायक १७२ जना, तामाङ भाषा प्रशिक्षण सहायक १ जना, प्राविधिक धारका शिक्षक १६ जना, प्रशिक्षक ३२ जना, सहायक प्रशिक्षक १६ जना, विद्यालय सहायक १ जना, आया ८७ जना, बाल विकास शिक्षक १२३ जना र विद्यालय नर्स ३३ जना गरी कुल ४८१ जना प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यसका साथै, बैठकले नेपाल भाषा र तामाङ भाषाका सहायक प्रशिक्षकहरूको करार म्याद १ वर्ष थप गर्ने निर्णय समेत गरेको छ ।

अन्य महत्वपूर्ण निर्णय र भावी योजना
बैठकले सेवा तथा सामानका करिब १ हजार ५ सय वटा दररेटहरू स्वीकृत गरेको छ, जसलाई दररेट निर्धारण समितिका संयोजक जगदीश अर्यालले पेश गर्नुभएको थियो । वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले उठाएको पार्क तथा खेलकुद मैदान सञ्चालन कार्यविधि र कार्यपालिका सदस्य महेश नेपालीले उठाएको आवासको हक (भवन अभिलेखन) सम्बन्धी विषयमा कार्यवाहक प्रमुख डंगोलले अध्ययन र मस्यौदा तयार भइरहेको र आगामी बैठकमा पेश गरिने जानकारी दिनुभयो ।

महानगरको यस बैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारी, सम्पदा समितिका संयोजक आशामान संगत र शिक्षा तथा स्वास्थ्य समितिका सदस्य सचिव नमराज ढकालले सम्बन्धित विभागका प्रस्तावहरू पेश गर्नुभएको थियो । जनसरोकारका विषयमा कार्यवाहक प्रमुख डंगोलले देखाउनुभएको यो सक्रियताले महानगरको सेवा प्रवाहमा नयाँ उत्साह थपेको छ ।