सांसदहरुको एकै स्वर– ‘अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन’

काठमाडौं । राज्यव्यवस्था सुशासन समितिको बैठकमा सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रधानमन्त्री कार्यालयको शाखा नभएकाले आफ्नो संवैधानिक हैसियत र आँट कायम राख्न् सुझाव दिएका छन् । विपक्षी दलका सांसद मात्रै होइन सत्ता पक्षका सांसदहरुले पनि यस्तो सुझाव दिएका हुन् ।

रास्वपा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री मातहतको संस्था अख्तियार नभएको भन्दै प्रधानमन्त्रीले बोलाउँदैमा अख्तियारका पदाधिकारी जानु नहुनेमा जोड दिनुभयो ।

उहाँले अख्तियारका पदाधिकारीका कारणले अख्तियारले आफ्नो दायित्व पूरा गर्न नसकेको आरोप पनि लगाउनुभयो । ‘संसदीय समितिमा आउन मिल्छ, अख्तियार प्रधानमन्त्री मातहतको संस्था होइन। त्यसैले अख्तियारका पदाधिकारीहरू कुनै मन्त्री वा प्रधानमन्त्रीले बोलाउँदैमा त्यहाँ धाउनु हुँदैन। अख्तियारको मर्यादा दिनप्रतिदिन समाप्त हुँदै गएको छ। यो प्रवृत्तिको अन्त्य हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘भागबन्डाको राजनीति अन्त्य गरौँ र पूर्व कर्मचारीहरूको क्लब बन्न नदिऔँ। जति संवैधानिक निकाय छन्, ती सबै पूर्व कर्मचारीहरूको क्लब वा आयोग बनेका छन्।’ अख्तियार प्रमुखहरुलाई थुनेर राहदानीको मुद्धा चलाएको खवर बाहिर आएको भन्दै अख्तियारलाई आफ्नै हैसियतको ख्याल गर्न सुझाव दिनुभयो ।

सांसद युवराज दुलालले पनि अख्तियारले प्रधानमन्त्रीको दबाबमा राहदानीको मुद्धा चलाएको भन्दै त्यो गलत भएको बताउनुभयो । उहाँले पनि आफ्नो स्वायत्तताको ख्याल गर्न सुझाव दिनुभयो । नेकपा (एमाले)का सांसद पद्मा अर्यालले पनि प्रधानमन्त्री कार्यालयमा राहदानी ठेक्काको विषयमा भएको काण्डका विषयमा संकेत गर्दै अख्तियार विशेष खालको अङ्ग भएको स्मरण गराउनुभयो ।

प्रधानमन्त्री साह र उहाँको सचिवालयले केही समय अघि अख्तियार प्रमुख र आयुक्तहरुलाई प्रधानमन्त्री कार्यालयमै बोलाएर राहादानी ठेक्काको विषयमा दबाब दिएको विषय बाहिर आएको थियो ।