म्याग्दीमा चार किलोमिटरभन्दा बढी पदमार्ग निर्माण
काठमाडौँ, भदौ ७ । म्याग्दी जिल्लामा एकीकृत सेवा कार्यालयमार्फत गत आर्थिक वर्ष २०८२/८३ मा चार दशमलव १९ किलोमिटर पदमार्ग निर्माण कार्य सम्पन्न भएको छ । पर्यटन पूर्वाधार विकासका लागि सञ्चालित कुल २४ वटा योजनामध्ये १९ वटा योजनाहरू सफलतापूर्वक कार्यान्वयनमा आएका हुन् । यसका लागि विनियोजित कुल १ करोड ४० लाख रुपियाँ बजेटमध्ये १ करोड १० लाख रुपियाँ खर्च भएको र बाँकी पाँच वटा योजनाहरू प्रतिकूल भूगोल तथा मौसमका कारण पूरा हुन नसकेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख सम्झेर घर्ती क्षेत्रीका अनुसार सबै योजनाहरू उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएका हुन् । यस अवधिमा पर्यटकीय स्थलहरूमा पक्की तथा कच्ची पदमार्गका साथै विश्रामस्थल, आश्रयस्थल र घेराबारलगायतका संरचनाहरू निर्माण भएका छन् । यी पूर्वाधारको निर्माणसँगै जिल्लाका विकट पर्यटकीय क्षेत्रमा पर्यटक, स्थानीय बासिन्दा र पर्यटन मजदुरहरूलाई आवतजावत गर्न निकै सहज भएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहहरूमा यी योजनाहरू फैलिएका छन् । मालिका गाउँपालिकाको प्रभुचेलामा आश्रयस्थल र बिममा पक्की पदमार्ग निर्माण गरिएको छ भने बेनी नगरपालिकाको लभ्लीहिलमा घेराबार र विभिन्न वडाहरूमा पदमार्ग विस्तार गरिएको छ । त्यसैगरी, अन्नपूर्ण गाउँपालिकाको नारच्याङ झरना, रघुङ्गाको गायत्री मन्दिरमा सत्तल र मङ्गला तथा धवलागिरी गाउँपालिकाका विभिन्न स्थानमा पदमार्ग निर्माण गरी पर्यटकीय आकर्षण बढाइएको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ का लागि गण्डकी प्रदेश सरकारले म्याग्दीमा थप २४ वटा योजनाका लागि १ करोड ८५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । कार्यालयका इन्जिनियर सुमन बोगटीका अनुसार नयाँ आर्थिक वर्षका योजनाहरूको सर्वेक्षण, लागत अनुमान तयारी र उपभोक्ता समिति गठनको प्रक्रिया सुरु भइसकेको छ । आगामी योजनाहरूलाई पनि समयमै सम्पन्न गरी जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्य कार्यालयले राखेको छ ।