जेन्जी आन्दोलनका क्रममा लुटिएको ‘सट गन’सहित झापामा एक युवक पक्राउ

झापा, ७ भदौ । गत वर्षको ‘जेन्जी आन्दोलन’का क्रममा प्रहरीबाट लुटिएको एक थान ‘सट गन’ सहित झापाको दमकबाट एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले आज विशेष सूचनाका आधारमा ती युवकलाई हतियारसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ घर भई हाल दमक नगरपालिका–२ स्थित रतुवा पुल नजिकैको ‘अक्ष इन्टरप्राइजेज मोटरसाइकल ग्यारेज’मा काम गर्ने २० वर्षीय सुमन कर्ण रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवाका अनुसार गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा उक्त सट गन प्रहरीबाट लुटिएको थियो । सो हतियार दमक–४ त्रिवेणी चोकस्थित खैरबारीमा लुकाएर राखिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोलीले खोजतलास तीव्र पारेको थियो ।

प्रहरीले कर्णलाई नियन्त्रणमा लिएर उनकै बयानका आधारमा तोकिएको स्थानमा खोजी गर्दा प्रहरीकै ‘मिक’ कम्बलमा पोका पारेर लुकाइएको अवस्थामा सट गन फेला पारेको हो ।

डीएसपी अवाका अनुसार उक्त हतियार कुन प्रहरी इकाइबाट लुटिएको हो र आन्दोलनका क्रममा कर्णको हातमा कसरी पुग्यो भन्नेबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक लिँदै बरामद हतियारबारे कानुनी प्रक्रिया अगाडि बढाएको छ ।