बाढी र कटानका कारण म्याग्दीको दुखुखोला पुल जोखिममा

म्याग्दी, ८ भदौ । म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरवाङ सडकखण्ड अन्तर्गत मङ्गला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा पर्ने दुखुखोला मोटरेबल पुल जोखिममा परेको छ । दुखुखोलामा आएको बाढीले पुलको जग र पहुँचमार्ग (एप्रोच रोड) कटान गरेपछि पुल भासिने जोखिम बढेको हो ।

मालिका गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद रोकाका अनुसार बाढीले पुलको मङ्गलातर्फको पिलरको मुनिबाट कटान सुरु गरेको छ । “पुलको संरचनाभन्दा मुनिबाट खोला बग्न थालेको छ, जसका कारण पहुँचमार्ग साँगुरिदै गएको छ,” रोकाले भन्नुभयो, “यात्रुवाहक सवारी र जलविद्युत् आयोजनाका गह्रौँ सामग्री बोकेका ट्रकहरू गुड्ने यो पुल जुनसुकै बेला दुर्घटनामा पर्न सक्छ ।”
यो पुल भत्किएमा म्याग्दीका मालिका र धवलागिरि गाउँपालिका तथा बागलुङको तमानखोला गाउँपालिकाको सदरमुकाम बेनीसँगको सिधा यातायात सम्पर्क विच्छेद हुनेछ ।

तत्कालीन जिल्ला पूर्वाधार कार्यालयमार्फत २ करोड ६ लाख रुपैयाँ लागतमा निर्माण भएको यो पुल २०७६ सालमा सम्पन्न भई सञ्चालनमा आएको थियो । २० मिटर लामो र ६ मिटर चौडा यो पुलले पश्चिम म्याग्दीलाई सदरमुकामसँग जोड्ने मुख्य कडीको रूपमा काम गर्दै आएको छ ।

पुल जोखिममा परेपछि पूर्वाधार विकास कार्यालय म्याग्दीले शनिबारदेखि नै संरक्षणको काम थालेको छ । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा. महेन्द्र बानियाँले डोजर परिचालन गरेर खोलाको बहावलाई डाइभर्सन गर्ने काम भइरहेको जानकारी दिनुभयो ।
“अहिले खोला फर्काउने र पिलर तथा पहुँचमार्ग जोगाउन पर्खाल लगाउने काम सुरु भएको छ,” बानियाँले भन्नुभयो । जोखिम कायमै रहेकाले पुलबाट यात्रा गर्दा विशेष सावधानी अपनाउन र सावधानीपूर्वक सवारी चलाउन कार्यालयले चालक तथा यात्रुहरूलाई आग्रह गरेको छ ।