बाढी प्रभावितको स्वास्थ्य उपचारका लागि विश्व स्वास्थ्य सङ्गठनद्वारा डेढ लाख डलर बराबरको सहयोग
काठमाडौँ, भदौ १५ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपालका बाढी प्रभावित समुदायको स्वास्थ्य उपचार र राहतका लागि १ लाख ५० हजार अमेरिकी डलर (करिब २ करोड नेपाली रुपैयाँ) बराबरको आपत्कालीन स्वास्थ्य सामग्री प्रदान गरेको छ। सङ्गठनले दक्षिणपूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषमार्फत उक्त सहायता उपलब्ध गराएको हो।
नेपालमा हालै आएको विनाशकारी बाढीबाट सिर्जित स्वास्थ्य समस्या समाधान गर्न डब्लुएचओले तत्काल प्रतिकार्य सुरु गरेको छ। डब्लुएचओ दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. निलेश बुद्धले नेपालको आपत्कालीन अवस्थाको प्रतिकार्य र पुनःस्थापनाका प्रयासहरूमा सङ्गठनको निरन्तर प्रतिबद्धता रहने बताउनुभयो। उहाँका अनुसार, गत भदौ १० गते बाढी आएको केही घण्टाभित्रै प्रभावित क्षेत्रका लागि अत्यावश्यक स्वास्थ्य सामग्रीहरू परिचालन गरिएको थियो।
प्राप्त सहयोगअन्तर्गत करिब १० हजार नागरिकलाई तीन महिनासम्म आवश्यक पर्ने औषधीसहितका आपत्कालीन स्वास्थ्य सामग्री र अस्थायी बसोबासका लागि पालहरू उपलब्ध गराइएको छ। यसका साथै सर्जिकल मास्क, पञ्जा र ह्यान्ड स्यानिटाइजर जस्ता सङ्क्रमण नियन्त्रणका लागि आवश्यक सामग्रीहरू समेत प्रभावित क्षेत्रमा पठाइएको सङ्गठनले जनाएको छ।
बाढीपछिको समयमा झाडापखाला, श्वासप्रश्वाससम्बन्धी समस्या, पानी तथा खाद्यजन्य रोगहरू र कीटजन्य (वाहकजन्य) रोगहरूको जोखिम उच्च हुने भन्दै डब्लुएचओले समयमै सतर्कता अपनाउन र स्वास्थ्य अवस्थाको प्रभावकारी निगरानी गर्न जोड दिएको छ। सङ्गठनले बाढीका कारण घाइते भएकाहरूको उपचार र सम्भावित महामारी नियन्त्रणका लागि स्थानीय स्वास्थ्य निकायहरूसँग समन्वय गरिरहेको छ।
