नागढुङ्गा-नौबिसे सडक खण्डको पातले वनमा सडक भासियो, सुरुङमार्ग विकल्प

काठमाडौँ, १७ भदौ । नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा नजिकैको पातले वनमा सडक भासिएपछि यातायात सेवा प्रभावित भएको छ । सडकको एक हिस्सा भासिएर जोखिम बढेपछि अहिले उक्त क्षेत्रमा सवारी साधनहरू एकतर्फी रूपमा मात्र सञ्चालन गरिएको छ ।
सडक डिभिजन कार्यालय धादिङका अनुसार, सडक भासिएपछि सवारी व्यवस्थापनमा हेरफेर गरिएको छ । डिभिजनका इन्जिनियर अर्जुन प्रसाद अर्यालले हाललाई सो खण्डबाट पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर र अत्यावश्यक मालवाहक गाडीहरूलाई मात्रै आवतजावत गर्न दिइएको जानकारी दिनुभयो ।

सडकमा चाप कम गर्न र जोखिम टार्नका लागि पेट्रोलियम पदार्थ बोकेका बाहेक अन्य सवारी साधनहरूलाई भने नागढुङ्गा सुरुङमार्ग (Tunnel) भएर पठाउने तयारी र व्यवस्थापन भइरहेको इन्जिनियर अर्यालले बताउनुभयो ।

प्रारम्भिक अध्ययनअनुसार सडकको सुरक्षा पर्खाल निकै पुरानो भएका कारण भत्किएको र त्यसले सडकको भाग पनि भसाएको देखिएको छ । “वाल धेरै पुरानो भएकाले भत्किएको हुन सक्छ, जसले गर्दा सडकको सतह भासियो,” इन्जिनियर अर्यालले भन्नुभयो, “वास्तविक प्राविधिक कारण पत्ता लगाउन विभागको टोलीले अध्ययन सुरु गरिसकेको छ ।”

सडक विभागको प्राविधिक टोली अहिले घटनास्थलमा पुगेर मर्मतको कार्ययोजना बनाइरहेको छ । सडक अवरुद्ध हुँदा नागढुङ्गा क्षेत्रमा सवारी साधनको लामो लाम लागेको छ भने ट्राफिक प्रहरीले वैकल्पिक मार्गको प्रयोग गर्न र धैर्यता अपनाउन चालकहरूलाई आग्रह गरेको छ ।