उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक : घरायसी उपभोक्तालाई प्राथमिकता दिइने
काठमाडौँ, १७ भदौ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकाभित्रका होटल, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक प्रतिष्ठानहरूलाई ग्यास बिक्री गर्न तत्कालका लागि रोक लगाएको छ । बाढी र पहिरोका कारण आपूर्ति प्रणालीमा परेको चापलाई मध्यनजर गर्दै सर्वसाधारण उपभोक्तालाई ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न निगमले यस्तो निर्णय गरेको हो ।
निगमका अनुसार अब ठुला होटल र उद्योगहरूले आफूलाई आवश्यक पर्ने ग्यास उपत्यकाबाहिरका ग्यास उद्योगहरूबाट सीधै खरिद गर्नुपर्नेछ । निगमका ग्यास विभाग प्रमुख विनीतमणि उपाध्यायले घरायसी ग्राहकको सुविधालाई सर्वोपरि ठान्दै व्यावसायिक प्रयोजनका लागि उपत्यकाका डिपोहरूबाट ग्यास वितरण नगर्ने नीति लिइएको जानकारी दिनुभयो । “निगमले व्यावसायिक प्रयोजनका लागि काठमाडौँ उपत्यकाबाट ग्यास बिक्री गर्न नदिने निर्णय गरेको छ,” उपाध्यायले भन्नुभयो, “ठुला होटल र उद्योगले अब उपत्यकाबाहिरका ग्यास उद्योगमा पुगेर सीधै ग्यास ल्याउन सक्नेछन् ।”
नयाँ व्यवस्थाअनुसार हेटौँडा, चितवन, नवलपरासी लगायतका जिल्लाबाट काठमाडौँ भित्र्याइएका ग्यास सिलिन्डरहरू अब उपत्यकाका खुद्रा विक्रेता वा डिपोमार्फत व्यावसायिक प्रयोजनका लागि बिक्री गर्न पाइने छैन । व्यावसायिक प्रयोजनका लागि ग्यास आवश्यक पर्ने व्यवसायीहरूले आफ्नै सवारी साधन र ढुवानीको व्यवस्था गरी बाहिरका उद्योगबाट ग्यास ल्याउनुपर्ने निगमले स्पष्ट पारेको छ ।
पृथ्वी राजमार्गको कृष्णभीर लगायतका स्थानमा सडक भासिएर ग्यास बुलेटहरू आउन कठिन भएपछि बजारमा अभाव हुन नदिन निगमले यो वैकल्पिक कदम चालेको हो ।