बाढीका कारण चीनमा अलपत्र ११४ नेपाली नागरिकको तातोपानी नाकाबाट उद्धार

काठमाडौँ, भदौ १८ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण चीनको केरुङ क्षेत्रमा अलपत्र परेका ११४ जना नेपाली नागरिक बुधबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन् । रसुवागढी नाका र पासाङल्हामु राजमार्ग बाढीले क्षतिग्रस्त भएपछि केरुङमा रोकिएका उनीहरूलाई चिनियाँ पक्षको समन्वयमा तातोपानी नाका ल्याइएको हो ।

तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चिनियाँ अधिकारीहरूले नेपाली नागरिकलाई राहदानी नम्बर र आवश्यक विवरणसहित तातोपानीको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीहरूको जिम्मा लगाएका थिए । चिनियाँ पक्षले सुरक्षा र यात्रा सहजीकरण गर्दै उनीहरूलाई नेपाल पठाएको तिमल्सिनाले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले रसुवाको बाढीका कारण चीनतर्फ सुरक्षित स्थानमा रहेका नागरिकलाई तातोपानी नाकाबाट ल्याउने व्यवस्था मिलाइएको बताउनुभयो । हाल तातोपानी भन्सार कार्यालय पूर्ण रूपमा सञ्चालनमा नरहे पनि मानवीय सेवा र पर्यटक आवागमनका लागि भने नाका खुला राखिएको उहाँले स्पष्ट पार्नुभयो ।

स्वदेश फर्किनेमा अधिकांश सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका नागरिक रहेका छन् । उनीहरू अस्थायी प्रवेश पास लिएर केरुङ क्षेत्रमा सामान लोड–अनलोड, होटल व्यवसाय र किनमेलका लागि पुगेका थिए । ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार रसुवागढी–केरुङ सडक अवरुद्ध भएपछि नेपालीहरू त्यहाँ अलपत्र परेका हुन् ।

महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाका अनुसार चीनको तिब्बततर्फ करिब एक हजार ६०० नेपाली रहेको अनुमान गरिएकोमा हालसम्म ८०० जनाले स्वदेश फर्किनका लागि नाम दर्ता गराएका छन् । राहदानी वा भिसा नभएका तर अस्थायी पासका आधारमा पुगेका नेपालीलाई पनि चीन सरकारले विशेष मानवीय सहयोगअन्तर्गत नेपाल फर्किन अनुमति दिएको निरौलाले बताउनुभयो ।

यसैबीच, भोटेकोशीको बाढीपछि सिन्धुपाल्चोकका २३९ जना अझै सम्पर्कविहीन रहेको तथ्याङ्क छ । बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहे पनि हालसम्म उनीहरूको अवस्था अज्ञात रहेको स्थानीय प्रशासनले जनाएको छ । चीनतर्फ सुरक्षित रहेका अन्य नेपालीलाई पनि क्रमिक रूपमा स्वदेश फर्काउने प्रक्रिया अगाडि बढाइएको छ ।