प्रतिनिधिसभा बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत खड्का आकस्मिक बिरामी, उपचारका लागि अस्पताल लगियो

काठमाडौँ, १८ भदौ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक चलिरहेका बेला सार्वजनिक लेखा समितिका सभापति एवं नेपाली कांग्रेसका सांसद भरत खड्का अचानक बिरामी हुनुभएको छ । बिहीबारको बैठकमा दफावार छलफल जारी रहेकै अवस्थामा उहाँ आफ्नो आसनबाट लडेपछि सदनमा केही बेर खैलाबैला मच्चिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले रोष्ट्रममा उभिएर बोलिरहेका बेला सांसद खड्का बसिरहेकै ठाउँबाट भुईँमा लड्नुभएको थियो । उहाँ अचानक लडेपछि नजिकै रहेका अन्य सांसदहरू तुरुन्तै उठेर उहाँको उद्धारका लागि पुगेका थिए । सो अप्रत्याशित घटनापछि सभामुखले बैठकको कारबाही केही समयका लागि रोक्नुभएको थियो ।

खड्कालाई तत्काल संसद् भवनभित्रै रहेको स्वास्थ्य कक्षमा लगेर प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको थियो । चिकित्सकहरूका अनुसार परीक्षणका क्रममा उहाँको रक्तचाप निकै उच्च देखिएको छ ।

संसद् सचिवालयका अनुसार उहाँलाई थप उपचार र विस्तृत स्वास्थ्य परीक्षणका लागि काठमाडौँको वीर अस्पताल लैजाने तयारी गरिएको छ । अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकहरूको निगरानीमा राखिएको बुझिएको छ ।