मध्यपूर्वमा युद्धको खतरा झनै चर्कियो: इरानद्वारा कुवेतस्थित अमेरिकी सैन्य आधारमा आक्रमण

 

तेहरान/वासिङ्टन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ युद्ध भड्काउने धम्कीका बावजुद इरानले कुवेतस्थित अमेरिकी सैन्य आधारमा भीषण आक्रमण गरेको छ। ६ महिना लामो द्वन्द्वपछि बिहीबार इरानले क्षेप्यास्त्र र ड्रोनमार्फत कुवेतमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएको हो।

इरानी क्षेत्रमा भएका अमेरिकी बमबारीमा कम्तीमा १९ जनाको मृत्यु भएपछि इरानले यो जवाफी कारबाही गरेको बताएको छ। इरानको सरकारी टेलिभिजनका अनुसार “इरानी जनताविरुद्ध अमेरिकाले गरेको अपराध” को बदला लिन खाडी क्षेत्रमा रहेका अमेरिकी आधारहरूमा आक्रमण गरिएको हो। इरानले कुवेतका साथै जोर्डन, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन र इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रमा रहेका अमेरिकी सैन्य लक्ष्यहरूमा पनि प्रहार गरेको छ।

ट्रम्पको चेतावनी: “ट्रम्प स्ट्रेट” नाम राख्ने प्रस्ताव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जुनसुकै बेला अझ कडा प्रहार गर्न अमेरिकी सेना तयार रहेको चेतावनी दिनुभएको छ। सामाजिक सञ्जाल ‘ट्रुथ’ मार्फत ट्रम्पले रणनीतिक महत्त्वको तेल ढुवानी मार्ग ‘स्ट्रेट अफ हर्मुज’ को नाम परिवर्तन गरी आफ्नो नामबाट “ट्रम्प स्ट्रेट” राख्न समेत सुझाव दिनुभएको छ। ट्रम्पले इरानलाई वार्तामा ल्याउन भन्दा पनि सैन्य शक्तिमार्फत दबाब दिने नीति अख्तियार गरिरहनुभएको छ।

इरानको ‘नयाँ रणनीति’
इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले संयुक्त राज्य अमेरिकालाई चेतावनी दिँदै इरानले युद्धमा अब “नयाँ रणनीति” अपनाएको घोषणा गर्नुभएको छ। हर्मुज जलडमरूमध्यमा तेल निर्यात मार्गमा आफ्नो पकड बलियो बनाउन इरानले समुद्री ‘माइन’ बिछ्याउने प्रयास गरिरहेको वासिङ्टनको दाबी छ। यसैका कारण पछिल्लो समय अमेरिका र इरानबीच समुद्री मार्ग नियन्त्रणको विषयलाई लिएर तनाव उत्कर्षमा पुगेको हो।

आर्थिक प्रतिबन्ध र ‘अधिकतम दबाब’
अमेरिकाले इरानको अर्थतन्त्रलाई धराशयी बनाउन “अधिकतम दबाब” को नीतिलाई अझ कडा बनाउने भएको छ। अमेरिकी ऊर्जा सचिव क्रिस राइटले इरानका व्यापारिक साझेदारहरूमाथि समेत विस्तारित प्रतिबन्ध लगाउने योजना रहेको बताउनुभएको छ।

यता कुवेती सेनाले बिहीबार इरानबाट आएका केही क्षेप्यास्त्र र ड्रोनहरूलाई आकाशमै नष्ट गरिएको दाबी गरेको छ। ६ महिनादेखि जारी यो द्वन्द्वले मध्यपूर्वको सुरक्षा र विश्वव्यापी तेल बजारमा गम्भीर संकट उत्पन्न गरेको छ। अन्तर्राष्ट्रिय समुदायले यस क्षेत्रमा पूर्णकालीन युद्ध भड्किन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।