साताको अन्तिम दिन नेप्सेमा झिनो सुधार, कारोबार रकम साढे ३ अर्ब नजिक
काठमाडौँ, १८ भदौ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार सामान्य अङ्कले बढेर बन्द भएको छ । मङ्गलबारदेखि सुरु भएको सुधारको क्रमले आज तेस्रो दिन पनि निरन्तरता पाएको हो ।
बिहीबार नेप्से परिसूचक ४.६६ अङ्कले बढेर २५४२.७७ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज सेन्सेटिभ इण्डेक्स ०.३१ अङ्क, फ्लोट इण्डेक्स ०.१५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अङ्कले बढेका छन् ।
परिसूचकसँगै आज बजारमा कारोबार रकम पनि बढेको छ । बुधबार २ अर्ब ९४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा आज ३४६ कम्पनीका १ करोड २१ लाख ६३ हजार कित्ता सेयर ३ अर्ब ४६ करोड ५२ लाख १ हजार रुपैयाँमा किनबेच भएका छन् । कुल ४० हजार ६९२ पटकको कारोबारबाट यो रकम बराबरको सेयर कारोबार भएको हो ।
आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ८.७६ प्रतिशतले बढेको छ । त्यस्तै, चिरख्वा हाइड्रोपावरको मूल्य ८.५६ प्रतिशत र आशा लघुवित्तको सेयर मूल्य ८.२९ प्रतिशतले बढेको छ । यता, पियोर इनर्जीको सेयर मूल्यमा भने सर्वाधिक १३.३३ प्रतिशतको गिरावट देखिएको छ ।
कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्स अग्रस्थानमा रह्यो । यस कम्पनीको मात्रै ४० करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावरको १३ करोड ५० लाख र सोलु हाइड्रोपावरको १२ करोड ५० लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ९ वटाको परिसूचक बढेको छ भने ४ वटाको घटेको छ । लगानी उपसमूह सर्वाधिक १.२६ प्रतिशतले बढ्दा व्यापार उपसमूह १.०९ प्रतिशतले सुधारिएको छ । यता वित्त, जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक भने आज सामान्य अङ्कले ओरालो लागेका छन् ।