बाढी प्रभावितका लागि काठमाडौँ महानगरद्वारा ‘मनोसामाजिक परामर्श केन्द्र’ सञ्चालन

काठमाडौँ, भदौ १८ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मानसिक तथा भावनात्मक चोट खेपिरहेका नागरिकलाई लक्षित गरी काठमाडौँ महानगरपालिकाले ‘मनोसामाजिक परामर्श केन्द्र’ सञ्चालनमा ल्याएको छ । राष्ट्रिय सभा गृहमा स्थापना गरिएको यस केन्द्रमार्फत बाढीबाट प्रभावित व्यक्तिहरूमा उत्पन्न हुनसक्ने चिन्ता, तनाव, र मनोवैज्ञानिक समस्याहरूको व्यवस्थापन गरिनेछ ।

महानगरपालिकाको स्वास्थ्य विभागले मनोसामाजिक परामर्शको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाहरूसँगको सहकार्यमा यो सेवा प्रारम्भ गरेको हो । केन्द्रमा विशेषज्ञ मनोविद्हरूले पीडितहरूलाई सुरक्षित वातावरणमा आफ्ना अनुभव र भावना व्यक्त गर्न प्रोत्साहन गर्दै आवश्यक मनोवैज्ञानिक प्राथमिक उपचार उपलब्ध गराउनेछन् ।

महानगरको स्वास्थ्य विभागका प्रमुख दिपककुमार के.सी.का अनुसार बाढीका कारण घाइते भई काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत रहेका वा अन्य स्थानमा आश्रय लिइरहेका व्यक्तिहरूलाई प्राथमिकताका साथ यो सेवा प्रदान गरिनेछ । “शारीरिक उपचारपछि मानसिक स्वास्थ्यको आवश्यकता देखिएका बिरामीहरूलाई अस्पतालहरूले यस केन्द्रमा प्रेषण (Refer) गर्न सक्नेछन्,” प्रमुख के.सी.ले भन्नुभयो । त्यस्तै, थप जटिल मानसिक समस्या देखिएका व्यक्तिहरूलाई केन्द्रले सम्बन्धित विशेषज्ञ अस्पतालहरूमा पठाउने व्यवस्था समेत मिलाएको छ ।

महानगरपालिकाले सञ्चालन गरिरहेको विपद् व्यवस्थापन हेल्प डेस्क र सूचना केन्द्रमा सम्पर्कमा आएका व्यक्तिहरूलाई पनि आवश्यकताका आधारमा यस केन्द्रमा परामर्शका लागि पठाइनेछ । केन्द्रले बाढीका कारण उत्पन्न डर, चिन्ता र शोकको सामना गर्न मद्दत गर्नुका साथै प्रभावित समुदायमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने र व्यावहारिक तनाव व्यवस्थापनका उपायहरू सिकाउने लक्ष्य राखेको छ ।

यस केन्द्रले विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र जोखिममा रहेका संवेदनशील समूहहरूलाई विशेष ध्यान दिनेछ । सेवाग्राहीको व्यक्तिगत गोपनीयता र सम्मानको पूर्ण प्रत्याभूति गर्दै व्यावसायिक मापदण्ड र सिद्धान्तका आधारमा परामर्श सेवा सञ्चालन गरिने महानगरले जनाएको छ ।

विपद्पश्चात् भावनात्मक कठिनाइ भोगिरहेका परिवार र व्यक्तिहरूलाई समयमै उचित परामर्श प्रदान गर्दा उनीहरूको जीवन सामान्यीकरणतर्फ छिटो फर्किन सहयोग पुग्ने विश्वास लिइएको छ ।