नारायणी किनारमा भेटिएका मृत पशु चौपायाको व्यवस्थापन गर्दै भरतपुर महानगर

काठमाडौँ , भदौ १९ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर नारायणी नदी किनारमा पुर्‍याएका मृत पशुचौपायाको व्यवस्थापन कार्यलाई भरतपुर महानगरपालिकाले तीव्रता दिएको छ । बाढीसँगै बगेर आएका पशुहरू नदी किनारका विभिन्न स्थानमा थुप्रिएर दुर्गन्ध फैलिन थालेपछि महानगरले व्यवस्थापनको विशेष अभियान सुरु गरेको हो ।

महानगर प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक कृष्णहरि ढकालका अनुसार गत भदौ १५ गतेदेखि नै जेसिबी र ट्याक्टर सहितको टोली परिचालन गरी मृत पशुहरूको व्यवस्थापन भइरहेको छ । हाल दैनिक ५ देखि ७ वटासम्म मृत पशु फेला पर्ने गरेको महानगरले जनाएको छ ।

“नदी किनारमा ठुलो संख्यामा भैँसी, गाई, सुँगुर र बङ्गुरका मृत शरीर भेटिएका छन्,” प्रहरी नायब उपरीक्षक ढकालले भन्नुभयो, “बस्ती नजिकै शवहरू सड्न थालेपछि रोगको संक्रमण र दुर्गन्ध फैलने जोखिम बढेकाले हामीले प्राविधिक टोलीसहित व्यवस्थापन गरिरहेका छौँ ।”

महानगरले भरतपुर-१ देवघाट (ठिमुरा) देखि गोलाघाटसम्मको तटीय क्षेत्रलाई लक्षित गरी यो अभियान चलाएको छ । बस्ती नजिक भेटिएका मृत पशुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी गाड्ने गरिएको छ भने बस्ती नभएका स्थानमा पशु प्राविधिकको समन्वयमा सोही स्थानमा खाडल खनेर विसर्जन गर्ने गरिएको छ ।

मृत पशु व्यवस्थापनका लागि महानगर प्रहरीसँगै भेटेरिनरी प्राविधिकहरू समेत प्रत्यक्ष रूपमा खटिएका छन् । यसका साथै, महानगर प्रहरीको टोली भदौ १० गतेदेखि नै बाढीमा बेपत्ता भएका व्यक्तिको खोजी तथा शव व्यवस्थापनमा समेत निरन्तर लागिपरेको प्रमुख ढकालले जानकारी दिनुभयो ।