कालीगण्डकीको कटानले मुस्ताङको टुकुचे गाउँ जोखिममा : एक हजार स्याउका बोट नष्ट
काठमाडौँ, भदौ २० । कालीगण्डकी नदीमा आएको बहाव र तीव्र कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १ स्थित ऐतिहासिक टुकुचे गाउँ पहिरो र डुबानको उच्च जोखिममा परेको छ । शुक्रबार राति परेको वर्षासँगै नदीको सतह बढ्दा तल्लो बस्तीतर्फ कटान तीव्र बनेको हो ।
थासाङ १ का वडाध्यक्ष सुरेश थकालीका अनुसार भदौ महिनामा मात्रै कालीगण्डकीले चार पटक धार परिवर्तन गरी बस्तीतर्फ कटान गरिसकेको छ । नदीको तीव्र बहावले गाउँ संरक्षणका लागि निर्माण गरिएका तटबन्ध र ग्याविन पर्खाल भत्काएर पानीको धार सिधै बस्ती र स्याउबारीतर्फ मोडिएको छ ।
भौतिक संरचना र कृषिमा ठुलो क्षति
नदीको धार परिवर्तन भएसँगै टुकुचेमा रहेको स्याउ भण्डारण गर्ने चिस्यान केन्द्र (कोल्ड स्टोर) र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) द्वारा निर्मित फोहर सङ्कलन केन्द्र डुबानमा परेका छन् ।
विशेष गरी कृषि क्षेत्रमा ठुलो क्षति पुगेको जानकारी दिँदै वडाध्यक्ष थकालीले भन्नुभयो, “नदीले धार परिवर्तन गर्दा कालीगण्डकी तटमा लगाइएका करिब एक हजार उत्पादनशील स्याउका बोटहरू नष्ट भएका छन् ।” नदीले यही गतिमा कटान जारी राखेमा तल्लो बस्तीका ३० घर, स्थानीय गुम्बा र अन्य ऐतिहासिक सम्पदाहरू जुनसुकै बेला बगाउन सक्ने खतरा बढेको छ ।
अर्बौँको लगानी बालुवामा
खानेपानी, जलस्रोत तथा सिँचाइ सवडिभिजन कार्यालयमार्फत करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएका सुरक्षा पर्खाल र तटबन्धहरू बाढीले पूर्ण रूपमा क्षतिग्रस्त तुल्याएको छ । बर्सेनि लेदो र गेग्रानसहित आउने बाढीले नदीको सतह उकासिँदै जाँदा पुराना संरचनाहरू प्रभावहीन बनेका हुन् ।
नियन्त्रणका लागि सङ्घर्ष
जोखिम न्यूनीकरणका लागि थासाङ गाउँपालिका र स्थानीय बासिन्दाले सक्रियता देखाएका छन् । हाल चार वटा डोजर प्रयोग गरी नदीको धार फर्काउने र बस्ती जोगाउने प्रयास भइरहेको छ । स्थानीयले जनश्रमदानमार्फत तारजाली भर्ने काम गरे पनि नदीको ठुलो बहावका अगाडि ती प्रयासहरू पर्याप्त हुन सकेका छैनन् ।
वडाध्यक्ष थकालीले तत्कालका लागि अस्थायी रोकथामका प्रयासहरू भइरहेको भए पनि टुकुचे बस्ती र स्याउबारीलाई पूर्ण रूपमा सुरक्षित राख्न दीर्घकालीन र स्थायी भौतिक पूर्वाधारको आवश्यकता रहेकोमा जोड दिनुभएको छ । नदीको सतह बढ्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन समेत आग्रह गरिएको छ ।