तीन दशकपछि ब्युँतिएको मैतिदेवीको ‘मैति लाखे आजु’ सम्पन्न, १९ दिनसम्म गुञ्जियो बाजागाजा
काठमाडौँ, २१ भदौ । काठमाडौँको मैतिदेवी क्षेत्रमा करिब तीन दशकदेखि लोप हुन लागेको मौलिक सांस्कृतिक परम्परा ‘मैति लाखे आजु’ यस वर्ष भव्य रूपमा सम्पन्न भएको छ । मैतिदेवी युनाइटेड क्लबको सक्रियतामा पुनः सुरु गरिएको यो सांस्कृतिक उत्सव नागपञ्चमीदेखि श्रीकृष्ण जन्माष्टमीसम्म १९ दिनसम्म सञ्चालन गरिएको हो ।
विगत २८ देखि ३० वर्षसम्म विभिन्न कारणले रोकिएको यो नाचलाई स्थानीय युवा र अग्रजहरूको पहलमा चौथो वर्ष अघिदेखि पुनः निरन्तरता दिन थालिएको हो । क्लबका अध्यक्ष राकेश शाहीका अनुसार यसको मुख्य उद्देश्य प्राचीन सभ्यता र अमूर्त सम्पदालाई भावी पुस्तामा हस्तान्तरण गर्नु हो ।
मैतिदेवी (मैति अजिमा) को द्वारपालका रूपमा रहेका लाखे मानिसहरूसँग क्रोधित भएर दुःख दिन थालेपछि श्रीकृष्ण जन्माष्टमीका दिन उनलाई फकाएर नियन्त्रणमा लिइएको धार्मिक विश्वास छ । सोही सम्झनामा परम्परागत भेषभूषा र मुकुट लगाएर मौलिक बाजा (धाः, धिमे, भुस्या) को तालमा लाखे नचाउने गरिन्छ । यस वर्ष मैतिदेवीसहित नक्साल, हाँडीगाउँ र अनामनगर क्षेत्रमा समेत यो नाच प्रदर्शन गरिएको थियो ।
स्थानीय किंवदन्तीअनुसार लाखेको अन्त्यपछि बगेको रगत जमेकाले धोबीखोलालाई पहिले ‘हिःजा खुसी’ (रगत जमेको खोला) भनिन्थ्यो । यस्ता ऐतिहासिक तथ्य र लोककथालाई यो जात्राले जीवन्त बनाएको छ । काठमाडौँ महानगरपालिकाको सहयोगमा सञ्चालित यस कार्यक्रमले स्थानीय संस्कृति प्रेमीहरूमा उत्साह जगाएको छ । १९ औँ दिनमा विशेष पूजाआजा गरी यो वर्षको लाखे नाचलाई विधिपूर्वक समापन गरिएको छ ।