सुवागढी नाका ठप्प भएपछि कोरलाबाट चिनियाँ सामान ढुवानी, केरुङमा थुप्रिएका ४०० कन्टेनर मुस्ताङ हुँदै ल्याइँदै
रसुवा, २१ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकाको सडक तथा भौतिक संरचना ध्वस्त पारेपछि चीनको केरुङमा थुप्रिएका व्यापारिक सामानहरू अब मुस्ताङको कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको छ।
गत भदौ १० गतेको भीषण बाढी र पहिरोले रसुवागढीस्थित नेपाल र चीन दुवैतर्फका मितेरी पुल, सरकारी कार्यालय र पहुँच मार्ग बगाएपछि यो नाका अनिश्चितकालका लागि बन्द भएको छ। नाका अवरुद्ध भएपछि केरुङका गोदाममा अड्किएका ४०० भन्दा बढी कन्टेनर सामान वैकल्पिक मार्गबाट ढुवानी गर्न सुरु गरिएको ‘मुसा ट्रान्सपोर्ट’ ले जनाएको छ।
मुसा ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार रसुवागढी–काठमाडौँ सडक मार्ग पुनःनिर्माण हुन लामो समय लाग्ने देखिएपछि व्यवसायीहरूले कोरला नाका रोजेका हुन्। “नेपालमा दसैँ र तिहार जस्ता ठुला चाडबाड नजिकिएका छन्, यस्तो बेला सामान रोकिँदा बजारमा अभाव हुन सक्ने भएकाले कोरला नाकाबाट धमाधम ढुवानी भइरहेको छ,” ज्याङले भन्नुभयो।
यसअघि रसुवागढी–त्रिशूली सडक खण्डमा रहेका कैयौँ मालवाहक कन्टेनरहरू बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको थियो। ती क्षतिबाट बचेका र केरुङमै रोकिएका सामानहरूलाई अहिले सुरक्षित रूपमा मुस्ताङतर्फ पठाइँदै छ।
ढुवानी कार्यमा सक्रिय प्रबन्ध निर्देशक ज्याङ सेपिङको पारिवारिक पृष्ठभूमि नेपालसँग जोडिएको छ। काठमाडौँको बागबजारबाट व्यापारका सिलसिलामा उहाँका पुर्खाहरू तिब्बत पुगेका थिए। मुस्लिम समुदायका ज्याङले आफ्नो पुर्ख्यौली देश नेपालको सेवा गर्ने भावनाले सिगात्सेमा बसेर सीमा नाकासम्म सामान पुर्याउने जिम्मेवारी सम्हालिरहेको बताउनुभयो।
रसुवागढी नाका बन्द भएपछि कोरला नाका अहिले चीनसँगको व्यापारका लागि मुख्य विकल्पका रूपमा उदाएको छ। यद्यपि, कोरलाबाट काठमाडौँसम्मको दुरी र सडक अवस्था चुनौतीपूर्ण रहे पनि चाडपर्वको सामान आपूर्तिलाई यसले ठुलो राहत दिने व्यवसायीहरूको विश्वास छ।
