अमेरिका–इरान तनाव : होर्मुज जलडमरूमध्यमा नयाँ ‘निषेधित क्षेत्र’ घोषणा गर्ने इरानको चेतावनी

एजेन्सी, २२ भदौ । इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य आसपासको क्षेत्रमा नयाँ ‘निषेधित क्षेत्र’ घोषणा गर्ने तयारी गरेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाईले आइतबार सरकारी सञ्चारमाध्यममार्फत उक्त क्षेत्र हुँदै आवतजावत गर्ने पानीजहाजलाई लक्षित गरी नयाँ नियम ल्याउन लागिएको जानकारी दिनुभएको हो ।

रेजाईका अनुसार प्रस्तावित निषेधित क्षेत्र अमेरिकी नौसैनिक नाकाबन्दीको सीमाबाट सुरु भएर होर्मुज जलडमरूमध्य र फारसको खाडीतर्फ विस्तार हुनेछ । इरानले आगामी केही दिन वा साताभित्र यसको औपचारिक घोषणा गर्ने बताएको छ ।

इरानले उक्त निषेधित क्षेत्रमा प्रवेश गर्ने र होर्मुज पार गर्ने उद्देश्य राख्ने कुनै पनि पानीजहाजलाई आफ्नो ‘प्रतिबन्ध सूची’ मा राख्ने चेतावनी दिएको छ । यद्यपि, यो क्षेत्रको निश्चित सिमाना कहाँबाट सुरु हुन्छ भन्नेबारे इरानले अझै स्पष्ट पारेको छैन ।

अमेरिकी सेनाले इरानी बन्दरगाहलाई लक्षित गर्दै इरानको तेल निर्यात रोक्न विगत केही समयदेखि नौसैनिक नाकाबन्दी गरिरहेको छ । २० भन्दा बढी युद्धपोतमार्फत गरिएको उक्त नाकाबन्दीका कारण हालसम्म ९२ वटा व्यापारिक पानीजहाजले आफ्नो मार्ग परिवर्तन गर्नुपरेको र तीनवटा जहाज सञ्चालन गर्न नसक्ने गरी क्षतिग्रस्त भएको अमेरिकी दाबी छ ।

होर्मुज जलडमरूमध्य विश्वको प्रमुख तेल ढुवानी मार्गमध्ये एक हो । इरानले यस मार्गलाई युद्धमा रणनीतिक दबाबको माध्यमका रूपमा प्रयोग गर्दै आएको छ । यसै क्रममा इरानी सञ्चारमाध्यमले आइतबार होर्मुज क्षेत्रमा प्रवेश गर्न खोजेको एउटा अमेरिकी मानवरहित पानीजहाजमाथि आक्रमण गरेको दाबी गरेका छन् । तर, अमेरिकी सेनाले इरानको यो दाबीलाई ‘पूर्ण रूपमा झुटो’ भन्दै खण्डन गरेको छ ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि दुई पक्षबीचको तनावले युद्धको रूप लिएको हो । कूटनीतिक प्रयासहरू असफल भएपछि अमेरिकाले इरानमाथि थप आर्थिक र सैन्य दबाब बढाउँदै लगेको छ भने इरानले जलमार्गमा कडाइ गरेर त्यसको प्रतिकार गर्ने रणनीति लिएको छ ।