साताको पहिलो दिन नेप्से परिसूचक १८ अङ्कले बढ्यो, कारोबार रकम ३ अर्ब ८३ करोड नाघ्यो
काठमाडौँ, २२ भदौ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक साताको पहिलो कारोबार दिन सोमबार सुधार भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि लगातार बढिरहेको बजारले आज पनि सोही वृद्धिको लयलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १८.०७ अङ्कले बढेर २,५६०.८४ विन्दुमा पुगेको छ। यस्तै, सेन्सेटिभ इण्डेक्स ४.४६ अङ्क, फ्लोट इण्डेक्स १.३२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अङ्कले बढेको छ।
परिसूचकसँगै आज सेयर कारोबार रकममा पनि वृद्धि देखिएको छ। अघिल्लो कारोबार दिन गत बिहीबार रु ३ अर्ब ४६ करोडको सेयर कारोबार भएको बजारमा आज ३५२ कम्पनीको ५० हजार ८४४ पटकको कारोबारमा रु ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार बराबरको ९२ लाख ९८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज पियोर इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको सेयर मूल्य रु ९९.३० ले बढेर प्रतिकित्ता रु ७६१.३० मा अन्तिम कारोबार भएको छ। यस्तै, गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब साढे ७ प्रतिशत तथा श्रीनगर एग्रीटेक, कालिका लघुवित्त र सागर डिष्टिलरीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ। यता, इमर्जिङ्ग नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयर मूल्य भने सर्वाधिक १५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु २५ करोड २१ लाख बराबरको सेयर कारोबार भएको छ। यस्तै, गरिमा विकास बैंकको करिब रु १८ करोड र सोलु हाइड्रोपावरको रु १६ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।
आज कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०५ प्रतिशतले बढ्दा बैंकिङ्ग र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ। वित्त र व्यापार उपसमूहको परिसूचक भने सामान्य अङ्कले ओरालो लागेको छ।